मध्य पहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्नेछौँ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने बताउनुभएको छ ।

पार्टीले मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज पार्टी कार्यालय ललितपुरमा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो “ समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ । ”
उहाँले मध्य पहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने पनि बताउनुभयो ।
बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको यात्रा यही पुस १ गते पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन भएको थियो ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप उक्त अभियानका अभियानमा ३० जिल्ला, दुई हजार किलोमिटर भन्दा बढी यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठकहरू, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहरूका माध्यमबाट लाखौँ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्