तपाईँ सुन्दै हुनुहुन्छः

‘अपराध अनुसन्धानका विषयमा नेपाल प्रहरी अन्तर्राष्ट्रिय क्षेत्रमै उत्कृष्ट’

विराटनगर । अपराध अनुसन्धान नियन्त्रण तथा समाधानका विषयमा छलफल गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धि गोष्ठी आयोजना गरिएको छ । 

गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी अनुसन्धान अधिकृत तथा जिल्ला न्यायाधिवक्ताहरुको सहभागिता रहेको छ । 

अपराधका घटना नियन्त्रण गर्दै अनुसन्धान प्रक्रिया सहज बनाउन अपराध अनुसन्धानमा कार्यरत सबै निकायसँग एकीकृत रुपमा छलफल गर्ने गरि नेपाल प्रहरी अपराध अनुसन्धान विभागले गोष्ठीको आयोजना गरेको हो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राईले गोष्ठीको उद्घाटन गर्नुहुँदै अपराध अनुसन्धानका विषयमा नेपाल प्रहरी अन्तर्राष्ट्रिय क्षेत्रमै उत्कृष्ट रहेको बताउनुभयो ।

उहाँले नेपाल प्रहरीको सेवालाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउन लागेको बताउनुभयो । मन्त्री राईले नयाँ रुपमा हाम्रो समाजमा अपराधका घटनाहरू देखा परिरहेकाले त्यसको समाधानमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले ठुलो सङ्ख्यामा युवाहरू लागु औषधको शिकार बन्दै गएकाले त्यसलाई रोक्न प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

अपराध अनुसन्धान विभाग काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त रौजरिया तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  वरिष्ठ प्रहरी उपरीक्षक जयराज सापकोटाले अपराध अनुसन्धान पद्धतिमा गोष्ठीले नयाँ आयाम थप्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button