तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्यालय हेटौँडामा आज गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले गाउँपालिका महासङ्घले उठाएका समस्या समाधानका लागि आफू तयार रहेको बताउनुभयो ।

दहत्तर बहत्तर सङ्कलनमा देखिएको समस्याका बारेमा आफूलाई जानकारी रहेको जनाउँदै मुख्यमन्त्री जमरकट्टेलले स्थानीय सरकार र प्रदेश सरकार मिलेर सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कर्णबहादुर मगरले मुख्यगरी कर्मचारी समस्या दहत्तर बहत्तर सङ्कलन लगायत समस्यालाई तत्काल सम्बोधन गरिदिन आग्रह गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा गाउँपालिका महासङ्घ बागमती प्रदेश कार्यालय सञ्चालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर सङ्कलन लगायत कानुनी जटिलता हटाउन महासङ्घले प्रदेश सरकारसँग माग गरेको छ ।

महासङ्घ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिनासँगै अध्यक्ष मगरको टोलिले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश किताबखानाका निर्देशक अनिता तामाङसँग पनि छुट्टाछुट्टै छलफल तथा भेटघाट गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button