मानव सेवा आश्रमको नवनिर्मित भवन प्रधानमन्त्री प्रचण्डले शनिबार उद्घाटन गर्नुहुने
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हेटौँडा आउनुहुने भएको छ । हेटौँडा–९, लामसुरेधाप स्थित “मानव सेवा आश्रम“ को मुख्य कार्यालयको नवनिर्मित भवन समुद्घाटनका लागि प्रचण्ड हेटौँडा आउन लाग्नुभएको हो ।
सहयोगापेक्षी सडक आश्रित मानवहरूको आश्रय स्थल “मानव सेवा आश्रम” को मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउनुहुने मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाश शरण महत लगायत नेपाल सरकारका मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल सरकारका मुख्य सचिव र सचिवहरू, वरिष्ठ कलाकार, समाजसेवी र आश्रमका अभिभावक, शुभेच्छुक र सहयोगीहरूको उपस्थिति रहने अध्यक्ष अधिकारीले बताउनुभयो ।
बेसहारा, अपाङ्गता भएकाहरूलाई सडक पेटीबाटै उद्धार गरेर खाना, नाना र छानाको व्यवस्था गर्दै नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित “मानव सेवा आश्रम” का देशका विभिन्न ठाउँमा भवन निर्माण भइरहेका छन् । ती भवन मध्ये मानव सेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन समुद्घाटन हुने भएको उहाँले बताउनुभयो ।
२०७५ सालबाट निर्माण सुरु भएको मानव सेवा आश्रमको भवन निर्माणमा हालसम्म करिब १३ करोड रुपैयाँ खर्च भइसकेको छ । आश्रम करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएको साथै आश्रममा हाल २१५ जनाले सेवा लिइरहनुभएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्