विपन्न हरवाचरवा दलित महिला भन्दछन् : दुःखको दिन गए
सप्तरी । केही वर्षअघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन ।
पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी उहाँ अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुःखको दिन गएको हो । गाउँमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आउनुभएकी सदाको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो । तर श्रीपुर्राज सामुदायिक विकास केन्द्रसँग ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख बिस्तारै हराउन थालेको उहाँ बताउनुहुन्छ ।
“केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर एक वर्षअघि श्रीपुर्राजबाट रु २० हजार ऋण लिएर न्यून पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ, “व्यापार गर्ने इच्छा भए पनि पुँजी अभावका कारण त्यसले मूर्तता पाएन । ” २०७९ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित माता दुर्गा हरवा चरवा बचत तथा ऋण समूहबाट समेत रु एक हजार चार सय ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उहाँको कथन छ । घरमै सञ्चालन गरेको किराना पसलबाट अहिले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी भइरहेको उहाँको कथन छ ।
यस्तै विगतका वर्षहरुमा साहुमहाजनको खेतबारीमा काम गरेर जीविकोपार्जन गर्दै आएकी सोही ठाउँकी ४५ वर्षीया सीताबरीदेवी सदालाई पनि अचेल किराना पसलबाट फुर्सद हुँदैन । करिब एक वर्षदेखि घरमै किराना पसल चलाउँदै आउनुभएकी उहाँले त्यही पसलबाट राम्रो आम्दानी गर्न थालेपछि साहुमहाजनको खेतमा कडा मिहिनेत गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएको बताउनुहुन्छ ।
“पहिला पहिला परिवार चलाउन असाध्यै समस्या हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “तर किराना पसल चलाएदेखि खासै समस्या छैन ।” तर श्रीमान् कालीचरण सदा बिरामी परेकाले एक्लै पसल चलाउन भन्ने गाह्रो भएको छ, उहाँले भन्नुभयो, “श्रीमान्ले पसलका लागि चाहिने समान राजविराज, रुपनी, कठौनालगायतका बजारबाट ल्याई दिनुहुन्थ्यो, अहिले उहाँ बिरामी परेकाले समस्या भएको छ ।”
सामान्य लेखपढ गर्नसमेत नजानेकी स्थानीय गीता सदालाई अचेल बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको सहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । एक वर्षअघि सम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उहाँ अहिले भन्ने गाउँ नजिकैको शहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । आयआर्जनको गतिलो आधारसँगै गितादेवीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ ।
आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघि सम्म गाउँकै साहुमहाजन कहाँ बहिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै गीतादेवी भन्नुहुन्छ, “पहिले हरवाचरवाको रुपमा ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालन पोषण गर्न धौ–धौ हुन्थ्यो ।” अहिले भन्ने स्वतन्त्ररुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उहाँको भनाइ छ ।
“दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याला पाउथ्ये, त्यसकारण परिवार चलाउन समस्या हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “तर अब मेरो त्यो दुःखको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको छु, उहाँको भनाइ छ ।
आफ्नै घरमा सञ्चालन गरेको किराना पसलले स्थानीय रञ्जना सदाको मात्रै होइन, उहाँको सिङ्गो परिवार नै सुखी र खुसी बनेका छन् । “परिवारका सदस्यको समेत राम्रै साथ पाएकी छु”, उहाँ भन्नुहुन्छ, “किराना पसल गरेर परिवारको गुजारा चलाउनुको साथै छोराछोरीको पढाइ खर्चसँगै परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान गर्दै आएकी छु ।”
आर्थिक विपन्नता र चेतनाको अभावमा साहुमहाजनमा श्रम गर्दै आएकी ललितादेवी, सीतावरीदेवी, गीतादेवी र रञ्जनाको जीवनमा आएको यो परिवर्तन श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो ।
“सुरु सुरुमा म धेरै लजाउँथे, के गरौँ नगरौँ भन्ने थाहै थिएन, सधैँ मजदुरी गरेर जेनतेन परिवार मात्रै पाल्ये”, रञ्जना भन्नुहुन्छ, “तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।” द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियमा गठन भएको बचत तथा समूहमा आबद्ध भएकी उहाँहरू त्यही समूहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउनुहुन्छ ।
सिरहाको लहान, गोलबजार, धनगढीमाई तथा सप्तरीको वीरेन्द्र बजार, राजविराजबाट तरकारी खरिद गरी गाउँसँगै नजिकैको रुपनी, कदम चौक, पौवालगायतका हाटबजारमा तरकारी व्यापार गर्दै आएकी गीतादेवी भन्नुहुन्छ, “अहिले त्यही तरकारी व्यापारबाट दैनिक रु पाँच सयदेखि रु सात सयसम्म कमाइ भइरहेको छ ।”
सो केन्द्रबाट रु १० हजार र आफू आबद्ध भएको माता दुर्गा हरवाचरवा बचत तथा ऋण समूहबाट रु एक हजार गरी ११ हजार पुँजीबाट सुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उहाँ बताउनुहुन्छ ।
साधारण लेखपढ गर्नमात्र जानेकी गीतादेवी समूहमा लागेपछि निधक्कर्ता पूर्व बोल्न सक्ने मात्र होइन आम्दानी गर्ने र बचत गर्ने बानीको समेत आफूमा विकास भएको बताउनुहुन्छ । उहाँहरू आबद्ध माता दुर्गा हरवाचरवा बचत तथा ऋण समूहमा महिला र पुरुष गरी ५६ जना सदस्य आबद्ध छन् । त्यसमध्ये ३२ जना सदस्यले बचत समूहका मासिक रु सयका दरले बचतसमेत गर्दै आएको समूहका अध्यक्ष रामदेव सदाले बताउनुभयो ।
सदस्यले मासिकरुपमा गरेको बचत रकम रु ३९ हजारभन्दा बढी पुगेको छ, उहाँ भन्नुहुन्छ, “बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरेका छौँ ।” जसले महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उहाँको बुझाइ छ । पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले सकारात्मक सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीको भनाइ छ ।
“केही वर्षअघिसम्म साहुमहाजनमा मजदुरी गर्दै आएकाका हरवाचरवा परिवारका महिला बिस्तारै साना व्यवसायमा हौसिँदै गएका छन्”, उहाँ भन्नुहुन्छ, “पछिल्लो समय उहाँहरूले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिला अघि बढ्न सके आर्थिकसँगै सामाजिक क्षेत्रमा समेत परिवर्तन आउन सक्छ ।”
प्रतिक्रिया राख्नुहोस्