पोखराको राष्ट्रिय औद्योगिक व्यापार मेलामा साल्ट ट्रेडिङको स्टलमा ५ देखि १५ छुट

पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेलामा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्टलमा विशेष छुटमा सामान बिक्री भएको छ । साल्ट ट्रेडिङले सहुलियत दरमा खाद्य बस्तुहरूको बिक्री वितरण गर्न सुरु गरेसँगै उक्त स्टलमा ग्राहकहरूको निकै भाड भएको साल्ट ट्रेडिङ असिस्टेन्ट म्यानेजर प्रज्ज्वलमान प्रधानले बताउनु भयो ।
विभिन्न चार्ड पर्वको अवसरमा साल्ट ट्रेडिङले सहुलियत दरका पसलहरू राख्दै आएको भए पनि यसपाली मेलामा सहभागी हुने अवसर दिएको कारण पोखरामा सहभागी भएको उहाँले बताउनु भयो । बजारमा जता ततै महँगी भयो भन्ने जनगुनासो आएकोले आफूहरूले बजार मूल्य भन्दा करिब ५ देखि १५ प्रतिशतसम्म सहुलियत दरमा सामानहरू बिक्री गर्दै गरेको असिस्टेन्ट म्यानेजर प्रधानले जनाउनु भयो ।
पोखरामा बिहीबार देखि सुरु भएको उक्त मेलामा दाल, चामल, चिनी, गेडागुडी सहुलियत दरमा उपलब्ध गराएको उहाँले दाबी गर्नु भयो । मेलामा आएका दर्शकहरूलाई प्रति व्यक्ति २ केजी चिनी २ सय ३० मा उपलब्ध गराएको असिस्टेन्ट म्यानेजर प्रधानले बताउनु भयो । पोखरामा अत्यधिक माग भए कसो गर्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँले मेलामा माग अनुसारको खाद्य पदार्थ उपलब्ध गराउने वचन दिनु भएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा बङ्गलादेश र पाकिस्तानबाट समेत व्यवसायीक स्टल रहेको वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताउनु भयो । पोखराको प्रदर्शनी केन्द्रमा आउँदो पुस १ गतेसम्म सञ्चालन हुने उक्त मेलामा हस्तकला, देखि स्थानीय उत्पादनका सामानहरू समेत प्रदर्शनी एवं बिक्रीको लागि राखिएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताउनु भयो ।
मेलामा २ सय ५० व्यवसायीक स्टलहरू रहेका छन् । ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित भएको सङ्घले जनाएको छ । मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, वास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलावा, नयाँ औद्योगिक उत्पादनहरू, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य भएको अध्यक्ष प्रजापतिले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्