तपाईँ सुन्दै हुनुहुन्छः

२३ औँ आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता हुने 

कास्की । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा बर्सेनि आयोजित फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारी सुरु भएको छ। 

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिँदै छन् । 

प्रतियोगितालाई हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैङ्क अफिसियल बैङ्क छ भने बुद्ध एयर अफिसियल एयरलाइन्स हो ।

प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरू आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरूको नि:शुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने आयोजकले जनाएको । 

यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्टस् हब सिटीको रुपमा विकास गर्दै पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउनु साथै पोखरालाई अन्तर्राष्ट्रियरुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य रहेको आयोजक साहारा क्लबले जनाएको छ  । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरूको अन्तरनिहित फुटबल खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान विश्वास आयोजकको रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button