आयुर्वेद, ध्यान र योगलाई जीवनशैली बनाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताउनुभएको छ ।
आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्स्पोको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले प्राकृतिक रुपमा नेपालका हिमाल, पहाड र तराइमा फरक–फरक हावापानी रहेको र जडीबुटीका हिसाबले पनि नेपाल धनी रहेकाले प्राचीन कालदेखि प्रयोग हुँदै आएको जडीबुटीको प्रयोग र यसको विस्तारमा जोड दिनु जरुरी रहेको बताउनुभयो ।
मन्त्री शर्माले नेपालका बहुमूल्य जडीबुटी विदेशीहरूलाई सस्तोमा बेच्ने त्यसबाट उत्पादित औषधि वा अन्य वस्तु महँगोमा किनेर प्रयोग गर्नुपर्ने अवस्था विद्यमान रहेको सन्दर्भमा यसको गहिरो समीक्षा गर्दै विशेष योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्व दिइएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यसको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाएर अगाडि बढ्न सके स्वस्थ समाजको निर्माण गर्न सकिने बताउनुभयो ।
मन्त्री शर्माले यसका लागि सरकारले व्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने नीति लिएको सो अवसरमा उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्