तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा सञ्चालित नाइट क्रिकेटको उपाधि पप्पु लिजेन्डलाई

बाँके । शहिद यमलाल लामिछाने स्मृति प्रतिष्ठान गुलरिया बर्दियाले आयोजना गरेको प्रथम वृहत् रात्रिकालीन क्रिकेट प्रतियोगिताको उपाधि पप्पू लिजेन्डले हात पारेको छ। स्वतन्त्र विद्यार्थी युनियन बबई बहुमुखी क्याम्पस (एफएसयू) लाई ६ विकेटले पराजित गर्दै पप्पुले उपाधि चुमेको हो।

फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको एफएसले निर्धारित १२ ओभरमा ८ विकेट क्षतिमा ७२ रन बनायो ७३ रनको लक्ष्य पछ्याउने क्रममा पप्पु लिजेन्डले ९ ओभरमा ४ विकेट गुमाएर ७४ रन जोड्यो। टिमलाई उपाधि दिलाउन समिर आचार्यले २१ बलमा सर्वाधिक ३० रनको योगदान दिनुभयो।

त्यस्तै आलोक चौधरीले २१ बलमा १९ रन जोड्नुभयो। मनोज यादवले ७, निश्चल चन्द २, अजयकुमार र जितेन्द्र कुमारले १र१ रन बनाए।

प्रतियोगितामा पप्पु लेजेन्डका आलोक चौधरी उत्कृष्ट खेलाडी बन्नुभएको छ। सुदीप लामिछाने र उदयमान खेलाडी बीसीएका सम्यक थापा घोषित हुनुभएको हो ।

फाइनलको उत्कृष्ट खेलाडी स्वतन्त्र विद्यार्थी युनियन बबई बहुमुखी क्याम्पस (एफएसयू) का रवि सिंह बन्नुभयो । रात्रि क्रिकेट प्रतियोगिताको विजेता टिमलाई ५० हजार नगद तथा उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

बर्दियाको गुलरियास्थित कभर्ड हलको खेल मैदानमा विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक १७ गतेदेखि सुरु गरिएको क्रिकेट प्रतिस्पर्धामा १६ वटा टिम सहभागी थिए । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय नेपालगन्ज बाँकेको प्रायोजनमा गरिएको स्पर्धाको विजेतालाई प्रदेशका सांसद राजकुमार थारुले पुरस्कार हस्तान्तरण गर्नुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button