तपाईँ सुन्दै हुनुहुन्छः

बाँके प्रहरीद्वारा बरामद पाँच लाख मूल्य बढीको पटका नष्ट

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच लाख मूल्य बराबरको पटका बरामद गरि नष्ट गरेको छ । भारतको रुपैडियाबाट लुकाइछिपाई ल्याइएको प्रतिबन्धित पटाका जन्य वस्तु प्रहरीले पानीको खाल्डोमा हालेर नष्ट गरेको हो ।

विभिन्न समयमा वडा प्रहरी कार्यालयले नियन्त्रण गरेको पटाका शनिबार साँझपख जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पानीको खाल्डोमा हालेर नष्ट गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीले जानकारी दिनुभयो ।

जमुनाह नाका हुँदै अवैध रुपमा नेपालगञ्ज भित्राइएका पटाका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय भित्र परिसरमा पानीको खाल्डोमा हालेर उक्त वस्तु नष्ट गरिएको बिसीले बताउनुभयो ।

पटाका जन्य वस्तु हरेक वर्ष चाडपर्व लक्षित अवैध रुपमा नेपाल भित्रने गरेको छ । पटका जन्य वस्तुले स्वास्थ्य , वातावरण र धनजनमा क्षति गर्दछ । नेपालमा पटाका जन्य बस्तु पड्काउन प्रतिबन्ध गरिएको छ ।

बाँके प्रहरीले पनि पटाकाजन्य बस्तु आयात तथा निर्यातमा कडाइ गरेको छ । तर तिहारमा भने भारतीय बजारबाट ठूलो परिमाणमा पटाकाजन्य बस्तु नेपालगन्जमा भित्रने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button