तपाईँ सुन्दै हुनुहुन्छः

हिम चितुवाको आक्रमणबाट ७७ वटा च्याङ्ग्रा मरे

पोखरा । हिम चितुवाको आक्रमणबाट मुस्ताङमा ७७ वटा च्याङ्ग्रा मरेका छन् ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को ढाक्मर गाउँमा स्थानीय निग्मा गुरुङले पालेको च्याङ्ग्राहरूलाई हिजो राति हिम चितुवाले आक्रमण गर्दा ७७ भन्दा बढी च्याङ्ग्रा मरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले बताउनुभयो ।

निग्माले पालना गरेको च्याङ्ग्राको खोरमा ४ वटा हिम चितुवा पसेर आक्रमण गर्दा एकै खोरमा रहेका २ सय वटा च्याङ्ग्रामध्ये ७७ वटा मरेको र ९ वटा घाइते अवस्थामा रहेको दामोदरकुण्ड गाउँपालिका–२ का वडा सदस्य ङवाङ छवत्तर गुरुङले बताउनुभयो ।

तारबारसहित व्यवस्थित बनाइएको खोरमा समेत हिम चितुवाले आक्रमण गर्दा करिब २४ लाख भन्दा बढीको क्षति भएको निग्माले बताउनुभयो ।

दुर्लभ वन्यजन्तु हिम चितुवाले यस अघि पनि हिमाली क्षेत्रमा भेडा च्याङ्ग्रामाथि आक्रमण गरेको थियो । यस विषयमा मानव र वन्यजन्तु बिचको द्वन्द्व अब झन् बढ्न सक्ने स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button