तपाईँ सुन्दै हुनुहुन्छः

नगरकोटमा सडक महोत्सव २०८० हुने

भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ ।

नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो । सो महोत्सव कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुन लागेको हो ।

महोत्सवको तैयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नवीन गुरुङले नगरकोटको पर्यटन प्रवर्द्धन गरी स्थानीय रैथाने वस्तुका उत्पादकहरूलाई लाभान्वित गर्न महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।

‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष नवीन गुरुङले नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

महोत्सवमा स्टल सङ्ख्या ३० रहने छ ।

महोत्सवमा प्रत्यक्ष साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारिता लगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका–६ का वडा अध्यक्ष धनबहादुर लामाले बताउनुभयो । उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको उहाँको भनाइ छ । महोत्सवमा एक लाख हाराहारी सहभागी हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button