प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता सुरु
वीरगन्ज । मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्जमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन बीरगंज महानरपालिका सधैँ तयार रहेको बताउनुभयो ।

वीरगन्जमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदानको पुनःनिर्माण गरिएको भन्दै उहाँले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागिपरेको बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भेट्रान्स सिटी क्लब वीरगन्ज विजयी भएको छ । भारत नोएडाको एफसीआई नर्थ जोन फुटबल क्लबलाई ट्राई बेकरमा ४–१ ले पराजित गर्दै आयोजक भेट्रान सिटीले जित हात पारेको हो ।

कार्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ. सी. झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफ.सी.आई.नर्थ जोन फुटबल टिम नोइडा गरी आठ टिमले भाग लिएको क्लबका महासचिव पङ्कज श्रेष्ठले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै हरेक खेलको म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २० हजार र प्रतियोगिताकै सर्वाेत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्