तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प अपडेट : १३७ जनाको मृत्यु

जाजरकोट । गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ ।

कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन/तीन तथा सल्यानमा एक जना घाइते भएका छन् । उनीहरूको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।

जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्व गृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा लगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेट्नुभयो ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button