धान रोप्नेदेखि काट्नसम्म तराई र भारतका श्रमिकको भर

भरतपुर I यति बेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ ।
जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ । यहाँ धान रोप्ने र काट्ने याममा मधेस प्रदेश र भारतका श्रमिक आउने गरेका छन् । उनीहरू सामूहिक रूपमा आएर यहाँ धान काट्ने, झार्ने र घरको भकारीसम्म पु¥याइदिने काम गर्छन् ।
जिल्लामा काम गर्ने युवा विदेश पलायन र स्थानीय कामदार महँगा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको सम्बद्ध किसान बताउँछन् । पश्चिम चितवनको चनौलीका किसान रामकृष्ण अधिकारी प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ भएका कामदारले काम गर्दैनन्, उनीहरूलाई ठेक्कामा दिएपछि हाइसन्चो हुन्छ ।” अधिकारी यस वर्ष पनि आफूले धान रोप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताउनुहुन्छ । “गाउँमा अधिकांश ४०÷५० कटेका मान्छे मात्र छन्”, उहाँ भन्नुहुन्छ, “काम गर्ने युवा कोही अस्ट्रेलिया, अमेरिका त कोही खाडी मुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन ।”
रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो याममा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको दस वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्नसमेत पटेल चितवन आउने गर्नुभएको हो । “यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उहाँ भन्नुहुन्छ, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ ।” रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको उहाँ बताउनुहुन्छ । यस पटक आठ जनाको टोली लिएर आएको भन्दै पटेल ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिनुहुन्छ ।
रौतहटका दिनेश पटेलले पनि भाडामा जग्गा लिएर भरतपुर महानगरपालिका–६ स्थित गीतानगरमा पाँच बिघा क्षेत्रफलमा धान खेती गर्नुभएको छ । धान भित्र्याउन यहाँका कामदार खोज्दा नपाएपछि रौतहट र बारा जिल्लाबाट कामदार ल्याएर उहाँले धान भित्र्याउनुभएको हो । “चितवनमा कामदार नै नपाउने । पाइए पनि दिनको एक हजार रुपैयाँ लिन्छन्”, दिनेश भन्नुहुन्छ, “महँगा कामदार हालेर खेती गर्नुभन्दा मधेसबाट नै कामदार ल्याएर काम गराइराखेका छौँ ।” चितवनका कामदार लगाएर खेती गर्दा लागत पनि नउठ्ने उहाँ बताउनुहुन्छ । चितवनमा मधेसबाट काम खोज्न आउने कामदारको सङ्ख्या बढी छ ।
रौतहटका हरिस यादव प्रत्येक वर्ष यो याममा धान काट्न चितवन आउनुभएको छ । उहाँ नियमित आउन थालेको चार वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्नसमेत उहाँ चितवन आउने आउने गर्नुभएको छ । “घरमा आमाबुबा छोराछोरी र श्रीमती छन् । आफ्नो पनि पेट पाल्न प¥यो,” उहाँ भन्नुहुन्छ, “छठ पर्वको खर्च जुटाउनका लागि प्रत्येक वर्ष चितवन आउँछौँ ।” बारा, पर्सा रौतहटबाट कादार छठ पर्वका लागि पैसा जोहो गर्न चितवनमा काम गर्न आउने गर्दछन् । हेटौँडा, नवलपरासी, काठमाडौँसम्म ज्याला मजदुरीको काम गर्न जाने गरेको यादव बताउनुहुन्छ । धान रोप्ने, काट्ने बेला अन्यन्त्रभन्दा चितवनमा सहज रूपमा काम पाइने गरेको उहाँको अनुभव छ ।
बाराबाट १५ जनाको टोलीसहित आएका झापट चौधरीले चितवनमा धान काट्न थालेको एक दशक बढी भयो । परिवार पाल्नका लागि खेतमा आली लगाउनेदेखि काट्नसम्म आउने गरेको उहाँको भनाइ छ । “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ,” मङ्गलपुरमा धान काट्दै गरेका चौधरी भन्नुहुन्छ, “चितवन जिल्लाका मङ्गलपुर, गीतानगर, पदमपुर, रत्ननगर, खैरहनी, राप्ती सबै क्षेत्रमा धान काट्ने गर्दछौँ ।”
यस्तै रौतहटका कृष्ण पाण्डे पनि आठ वर्षदेखि नियमितरुपमा चितवनमा धान काट्न आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ ।” धेरै काम हुँदा कहिलेकाहीँ रातभर काम गरेर समेत सक्ने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । पाण्डेले एक महिनाको अवधिमा खाने बस्ने खर्चबाहेक रु २५ देखि ३० हजार जम्मा गरेर घर लैजाने गरेको बताउनुहुन्छ ।
चितवनको अधिकांश जनशक्ति विदेश छ । एक दशक अघिसम्म अर्मपर्व चल्दथ्यो । अहिले हराउँदै गएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याएर काम गराउनु परेको भरतपुर–१५ शरणपुरका शिव उप्रेती बताउनुहुन्छ । “यहाँ भएकाले काम गर्दैनन् । धान लगाएर फाइदा पनि छैन,” उहाँ भन्नुहुन्छ, “बाँझो किन राख्ने भनेर खेती गरेका हौँ ।” गाउँमा अधिकांश ४० कटेका मानिसहरू मात्र रहेको उप्रेतीको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकृत सुरुचि त्रिपाठी जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म तराई मूलका श्रमिकमा भर पर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । “युवाहरू रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दो छ । स्थानीय स्तरमा श्रमिक पाइँदैन,” उहाँ भन्नुहुन्छ, “सबै कुरामा हामी परनिर्भर हुँदै गएका छौँ ।” धान लगाएर किसानलाई फाइदासमेत नभएको सूचना अधिकृत उप्रेती बताउनुहुन्छ। चितवनमा बिस्तारै कृषिमा यान्त्रिकीकरणतर्फ लैजाने प्रयास गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत केही किसानलाई धान रोप्ने, गोड्ने, काट्ने र थ्रेसर लगाउने मेसिन उपलब्ध गराइए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । चितवनमा गत आर्थिक वर्ष २२ हजार आठ सय ७० हेक्टरमा धान खेती गरिएको थियो । अहिले समयमा पानी नपरेका कारण दस प्रतिशत जमिनमा मकै, कोदो, तरकारीलगायत बाली लगाइएको सूचना अधिकृत उप्रेती बताउनुहुन्छ । रासस







प्रतिक्रिया राख्नुहोस्