तपाईँ सुन्दै हुनुहुन्छः

बोयर बाख्राबाट राम्रो आम्दानी

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ वर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । 

श्रीसले पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रा.लि. सञ्चालन गरी बोयर जातका शत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी बिक्री गर्दै आउनुभएको छ । उहाँले दुई÷तीन वर्ष पहिले बोयरका बोका र पाठीलाई दुई लाख मूल्यमा बिक्री हुँदा वार्षिक ६० लाख रुपैयाँको कारोबार गर्नुहुन्थ्यो  । अहिले भने मूल्य घटेर प्रतिवटा ८० हजार रुपैयाँ आउँदा आम्दानी केही  घटेको बताउनुभयो । श्रीसले आफ्नो फार्ममा करिब दुई करोड लगानी रहेको बताउनुभयो । बोयरको बिक्रीबाट वार्षिक  २०÷२५ लाखको कारोबार गरिरहेको श्रीसले बताउनुभयो  । छिटो–छिटो हुर्कने उन्नत जातको बोयर बाख्रा पालन गर्दै आएका श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन् । 

अहिले फार्ममा पाठाहरू जन्माउने १५ वटा माउ बाख्रा छन् । अन्य साना पाठापाठी पनि छन् । अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा पालिरहेको उहाँले जानकारी दिनुभयो । ‘दूईवर्ष पहिले फार्ममा एकसय जति शुद्ध बोयर थिए । माग पनि राम्रो थियो । आम्दानी मनग्य गर्न सफल भएको थिए’, उहाँले भन्नुभयो । ‘अहिले  देशमा युवाहरूको कमीले गर्दा उन्नतजातको बाख्रापालन माग घट्दै गएको हुँदा बिक्री पहिले जस्तो भएको छैन। अहिले मूल्य घटेको छ ।  छिटो राम्रो आम्दानी गर्नका लागि यो जातको बाख्रापालन राम्रो छ ।’ 

२०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले सुरुसुरुमा लोकल जातका बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थियो । 

लोकल जातका बाख्रापालनबाट राम्रो आम्दानी नभएपछि शुद्ध बोयर बाख्रा खरिद गरेर पाल्न सुरु गरेपछि आफु  जिल्लाको नमुना कृषक रुपमा परिचित हुन पुगेको उहाँले बताउनुभयो । 

उहाँले अहिले फार्मका २० वटा पाठीहरू अरूलाई पालन गर्नसमेत दिएको बताउनुभयो । आफूले बाख्राको लागि चाहिने घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेको बताउनुभयो । 

व्यवस्थित रुपमा दुई वटा खोर बनाएर बाख्रा पालन गरेका श्रीसको फार्म हेर्न विभिन्न ठाउँबाट कृषक आउने गर्नुभएको छ । उन्नत जातको बाख्रापालन सुरुवात गरेका श्रीसले गाउँमा अन्यलाई पनि उन्नत जातको बाख्रा पालनमा लाग्न प्रेरित गरिरहनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button