लुम्बिनी प्रदेश : ६ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता
बाँके । प्रदेश संरचनामाथि नै जनस्तरबाट प्रश्न उठिरहेका बेला लुम्बिनी प्रदेश सरकारले ६ महिनासम्म पूर्णता पाउन सकेको छैन । सरकार गठन भएको ६ महिना भइसक्दासमेत मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन।
६ महिनादेखि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीन वटा मन्त्रालय मुख्यमन्त्री चौधरीले आफैँ सम्हालिरहनु भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी गत वैशाख १४ गते लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
नेकपा (माओवादी केन्द्र)सहित ८ दलका ५२ जना र एक जना स्वतन्त्र सांसदको समर्थनमा नियुक्त हुनुभएका चौधरीले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । भागबन्डा पुर्याउनका लागि मन्त्रालय विभाजन गरेरै भए पनि माओवादी र नेपाली काँग्रेसबाट मन्त्रीहरू थप्ने मुख्यमन्त्रीले प्रयास गरे पनि अब त्यो सम्भावना टरेको छ ।
नेपाली कांग्रेस लुम्बिनीका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले तिहारपछि सरकारलाई पूर्णता दिने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ। ‘
‘कांग्रेसको प्रमुख सचेतकको हैसियतले मन्त्रालय थप नगरेर तिहारपछि सरकारलाई पूर्णता दिने तयारी भइरहेको जानकारी पाएको छु ।’ मुख्यमन्त्री चौधरीसहित नेताहरूको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरसल्लाह गरेर आइसकेको प्रमुख सचेतक तिमिल्सिनाले बताउनुभयो ।
‘प्रधानमन्त्री र पार्टी सभापतिज्यूले आर्थिक भार थपिने भएकाले मन्त्रालय थप नगरेरै मन्त्रिपरिषद्लाई पूर्णता दिन सल्लाह दिनुभएको जानकारी आएको छ ।अब अहिलेकै अवस्थामा सरकारलाई पूर्णता दिँदा पहिला माओवादी र काँग्रेसबिच भएको सहमति केही तलमाथि हुनसक्ने बताउनुभयो ।’
दसैँ अगावै मन्त्रिपरिषद्ले पूर्णता पाउने गरी प्रयास गरे पनि केन्द्रका नेताहरूको ध्यान कोसी प्रदेश सरकार बनाउनतिर रहेकाले समय लम्बिएको प्रमुख सचेतक तिमिल्सिनाको छ।‘अब माओवादीसँग बसेर मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी हुन्छ । मन्त्रालय थप नहुँदा पहिलाको सहमति केही तलमाथि हुने छ ‘तिहार लगत्तै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभयो ।’
विगतमा सत्तारुढ दलहरूको समझदारी अनुसार मन्त्रालय विभाजन गरेर माओवादीका २ र नेपाली कांग्रेसका ३ मन्त्री थप्ने तयारी भए पनि मन्त्रालय विभाजन नगर्न दबाब भएपछि मुख्यमन्त्री समस्यामा पर्नुभएको हो । काँग्रेसले माओवादीले थप एक मन्त्रालय लिन आग्रह गरे पनि माओवादीले भने मन्त्रालय विभाजन गरेर भए पनि दुई मन्त्रालय पाउनुपर्ने बताइरहेको छ ।
वैशाख १४ मा पद सम्हाल्नुभएका मुख्यमन्त्री चौधरी नेतृत्वको मन्त्रिपरिषद्मा काँग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादीबाट धनबहादुर मास्की अर्थमन्त्री रहेका छन् । साना दलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास, धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास र सन्तोष पाण्डेय गृहमन्त्री रहेका छन् ।
लुम्बिनी प्रदेशका गृहमन्त्री एवम् सरकारका प्रवक्ता सन्तोष पाण्डेयले मन्त्रिपरिषद् विस्तारमा मुख्यमन्त्री लागिरहे पनि एकपछि अर्को राजनीतिक घटनाक्रमका कारणले ढिलाइ भएको दाबी गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्