भरैयावासीको पीडा, न राज्यले देख्यो न जनप्रतिनिधिले बुझे
बुटवल । २० वर्ष अघि सुखौरा खोलामा आएको बाढीले बगाएर आफ्नो अढाई वर्षीय छोराको ज्यान गएको ६३ वर्षीय रमेश गैरेले अझै बिर्सेका छैनन् । वर्षेनी आउने बाढीले उनलाई त्यो घटनाको याद झनै ताजा बनाइदिन्छ । त्यसो त, बस्तीका दुई सय भन्दा बढी घर–परिवार बर्षेनी बाढीको त्रासमा बाँचिरहेका छन् । वारी–पारी गर्ने पुल छैन । बस्ती नजिकै विद्यालय छैन । गाउँमा स्वास्थ्य चौकी छैन । दैनिक उपभोग्य बस्तु किनमेल गर्न पारी बजार जानु पर्ने बाध्यता छ । यो बाध्यता हो, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–९ नम्बर वडा, भरैया टोल र ६ नम्बर वडा सुखौराको । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैँ नगरपालिका कार्यालय नजिकै रहेको सो बस्तीका बारेका स्थानीय सरकार र जनप्रतिनिधि बेखबर छन् ।
ईगुंरीया खोला र सुखौरा खोलाको बीचमा रहेको सो बस्ती वर्षौँदेखि डुबान र कटानको चपेटामा छ । त्यससँगै यहाँका जनता स्वच्छ खानेपानी, यातायात, र विकासका अन्य पूर्वाधारबाट समेत विमुख छन् ।
सुखौराका टङ्क बहादुर थापाको चार कठ्ठा खेत गत बर्ष आएको बाढीले बगाइदियो । उनको खेत भएको स्थानमा यतिबेला खोला बग्ने गर्छ । पहिले खोला बग्ने स्थान यतिबेला बगरमा परिणत भएको छ । खोलाले वर्षेनी जमिन कटान गरिरहेको छ । खोलाकै कारण उनको घर उच्च जोखिममा छ । तर तटबन्ध निर्माणका लागि कसलाई गुहार माग्नु पर्ने हो उनलाई थाहा छैन । भन्छन्, ‘माथिदेखि उर्लेर आएको बाढीले घर नै बगाउने हो कि भन्ने पीर लाग्छ । घर नै बगाइदियो भने बालबच्चा कहाँ लगेर राख्ने होला? खोलामा कसले तटबन्ध लगाइदेला?’
यता भरैया टोल शान्तिपुरकी तुलसी बमरेलले बस्ती नजिकै पुल नभएकै कारण वर्षौँदेखि सास्ती खेपेको बताउँछिन् । वर्षातको समयमा वारी–पारी गर्न निकै मुस्किल भएको उनको भनाई छ । उनी भन्छिन्, ‘हामी वर्षौँदेखि पुलकै कारण तड्पिएका छौँ । बिरामी हुँदा अस्पतालसम्म जाने बाटो छैन । बाटो नभएपछि फोहोरको गाडी हाम्रो बस्तीमा आउँदैन । वर्षयाममा खोलामा बाढी आउँदा बस्ती नै बगाएर लैजाने हो कि भन्ने त्रासमा बाँच्नु परेको छ । आफ्नो समस्या लिएर वडामा जाँदा भोलि आउनु, पर्सी आउनु भन्छन् । यहाँ हाम्रो कुरा सुन्ने कोही छैनन् । गरिब जनता कसरी बाँच्ने? हाम्रो उद्धार कसले गरिदेला?’
बस्तीको दुवै तर्फबाट बग्ने इंगुरीया खोला र सुखौरा खोलाले वर्षेनी बस्तीको दुवैतिरबाट जमिन कटान गरिरहेको छ । निरन्तरको कटानका कारण बस्ती उच्च जोखिममा छ । खेती योग्य जमिनमा बाढी पसेर बगाइदिए पछि खेतीको आशा नभएको र रोजगारीको समेत व्यवस्था नभएका कारण बाँच्न मुस्किल भएको बमरेल बताउँछिन् । ‘राज्यले हामीलाई सौतेले व्यवहार गरिरहेको छ । राज्यबाट पाउने सामान्य भन्दा सामान्य सेवा र सुविधाबाट समेत हामी बञ्चित छौँ । हामीले भूमि र बसोबास कर तिर्न जाँदा पनि हामीलाई भित्र छिर्न दिँदैनन् । न त हामीलाई रोजगारीको व्यवस्था छ । के हामी यो देशको नागरिक होइन र?’ उनले प्रश्न गर्छिन् ।
पुल नभएकै कारण स–साना बालबालिकाहरू खोला तरेरै विद्यालय जान बाध्य छन् । वर्षायाममा खोला बढेपछि उनीहरू विद्यालय जान सक्दैनन् । यसै कारण उनीहरूको पढाइमा समेत बाधा पुगेको बताउँछन् सोही गाउँका केशव न्यौपाने । ‘हाम्रो गाउँमा स्कुल छैन । पारी गाउँको स्कुलमा जान खोला तर्नु पर्छ । वर्षायाममा खोला बढे पछि हाम्रा बच्चाहरू स्कुल जाँदैनन्,’ उनले भने ।
बाल–बच्चाहरू स्कुल गएको बेला दिउँसोमा बाढी आउँदा अभिभावकहरू चिन्तामा पर्ने गरेको न्यौपानेको भनाई छ । उनी भन्छन्, ‘हाम्रो बस्तीमै स्कुल भएको भए हाम्रा नानीबाबुहरू परको बस्तीमा पढ्न जानु पर्दैनथ्यो । बिहान सकुशल स्कुल गएको बच्चा बेलुकी घर फर्केर आउने हो कि होइन भन्ने त्रासमा बाँच्नु परेको छ ।’
खोलामा पुल नभएकै कारण सुखौराकै शर्मिला बिकले एक वर्ष अघि अस्पताल पुग्न नपाई बाटैमा बच्चा जन्माउनु परेको घटना अझै ताजै छ । सुत्केरी व्यथाले च्यापे पछि शर्मिलालाई गाउँलेहरू मिलेर अस्पताल लिएर हिँडेका थिए । तर, खोला बढेका कारण खोला तर्न मुस्किल भयो । घण्टौँसम्म खोला वारी छटपटाउँदै बाटैमा बच्चा जन्माउनु परेको घटना सम्झिँदै शर्मिलाले आँसु झारिन् । ‘त्यतीबेला मैले मृत्युसँग लडाइँ गरेर बाँच्न सफल भएँ । पुल नभएकै कारण कैयौँ बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । रातमा बच्चा बिरामी भयो भने पनि नजिकै अस्पताल छैन । रातभरि रोएर बस्नु पर्छ । भोलिसम्म बच्चा बाँच्ने हो कि होइन भनेर भगवान् भरोसा भन्दै बस्नु परेको छ ।’ आँसु पुछ्दै उनले भनिन् ।
त्यसो त, चुनावको बेला पुल, बाटो र अन्य विकासको सपना देखाएर कैयौँ व्यक्ति बस्तीमा भोट माग्न आउँछन् । तर चुनाव जितेर गइसके पछि एक पटक पनि फर्केर नआएको स्थानीयको भनाई छ । स्थानीय तुलसा भुसाल भन्छिन्, ‘विकासको नारा बोकेर नयाँ–नयाँ मान्छे गाउँमा भोट माग्न आउँछन् । खाने पानी ल्याइदिन्छौँ । पुल बनाई दिन्छौँ । बाटो बनाइदिन्छौँ । स्कुल बनाइदिन्छौँ । नदीमा तटबन्ध निर्माण गरिदिन्छौँ । तपाईँको छोरा भतिजा जस्ता मान्छे हौँ, हामीलाई भोट हालेर जिताउनुस् भन्छन् । अहिले त पक्कै पनि बस्तीमा पुल बन्छ भनेर ढुक्क हुन्छौँ । उनीहरूको कुरामा विश्वास गरेर जिताएर पनि पठाउँछौँ । तर, जितेर गए पछि अहिलेसम्म मुखै देखाएका छैनन् । जसलाई जिताए पनि केही काम लागेन ।’ भोट माग्न आउनेहरूले आफ्नो आश्वासन पुरा नगरेका कारण पुल तरेर वारी पारी गर्ने उनको सपना मरिसकेको छ ।
बस्तीको समस्या लिएर गाउँका अगुवाहरूले नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र नबुझाएका पनि होइनन् । तर, नगरपालिकाले वास्तै नगरेको बताउँछन् सुखौराका अनिल परियार । उनको भनाई अनुसार, नगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि भरैया बस्ती नजिकै डम्पिङ्ग साइड बनाउने योजना बनाएको थियो । तर बस्ती नजिकै डम्पिङ्ग साइड बनाउँदा बस्ती दुर्गन्धित हुने भन्दै गाउँलेहरूले डम्पिङ्ग साइड बनाउन दिएनन् । त्यसै कारण नगरपालिकाले आफ्नो बस्तीलाई हेर्ने दृष्टिकोण फरक रहेको उनको भनाई छ ।
परियार भन्छन्, ‘खोलाले जमिन कटान गरिरहेको छ । तटबन्ध निर्माण गर्नका लागि वडा तथा नगरपालिकाले बजेट छुट्याएको छैन । यस वर्ष पनि खोलाकै कारण ज्यान जोखिममा पर्ने हो कि भन्ने चिन्ता छ ।’
बस्तीको समस्या देखाएर चुनाव जित्नेहरू फर्केर नआएको प्रति उनी खेद ब्यक्त गर्छन् । ‘राजनीतिक पार्टीहरूले हाम्रो पीडामाथि राजनीति गरिरहेका छन् । हामीलाई नेताहरूप्रति कुनै भरोसा छैन । सुन्छु, नगरपालिकाले पनि यसपालि पनि हाम्रो बस्तीका लागि ‘एक सुको’ बजेट छुट्याएन । हाम्रो समस्या कसले सुनिदिन्छ?’
त्यसो त, केही वर्ष पहिले नै बस्ती भन्दा पाँच सय मिटर पर एउटा पक्की पुल निर्माण सम्पन्न भइसकेको छ । तर, ‘कागलाई बेला पाक्यो, हर्ष न बिस्मात’ भने झैँ त्यो पुलले बस्तीलाई समेट्न सकेन । बस्ती भन्दा निकै पर निर्माण गरिएको हुनाले उक्त पुल गाउँलेको पहुँचमा छैन । बस्ती नजिकै पक्की पुलको आवश्यकता रहेको र यसका लागि जनप्रतिनिधि र सरकारकै ध्यानाकर्षण हुनु पर्ने बताउँछन् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सुजित विश्वकर्मा । पुल नभएकै कारण अन्य विकासका कार्यक्रमले समेत यो बस्तीलाई नसमेटेको र बस्ती ‘बत्ती मुनीको अँध्यारो’ जस्तै भएको उनको टिप्पणी छ ।
यद्यपि, पछिल्लो समय नेकपा माओवादी केन्द्रले पार्टी विशेष रूपान्तरण अभियान सञ्चालन गरि जनताका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । भरैया बस्तीको समस्यालाई पार्टीले कसरी हेरेको छ त भन्ने प्रश्नमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पार्टी रूपान्तरण अभियान सैनामैना नगर इन्चार्ज ठाकुर कुमार विश्वकर्मा भन्छन्, ‘यो क्षेत्र निकै संवेदनशील अवस्थामा छ । बाढी र प्राकृतिक प्रकोपको चपेटामा छ । यस क्षेत्रको समस्या समाधान गर्नु राज्यको पहिलो दायित्व हो । यस क्षेत्रको समस्या समाधान गर्नका लागि हाम्रो पार्टीले पनि पहल गर्छ ।’ पिछडिएका क्षेत्र र समुदायलाई प्राथमिकता दिई स्थानीय सरकारले समेत पहल गर्नु पर्ने उनी बताउँछन् ।
यता, स्थानीय सरकारको रुपमा रहेको सैनामैना नगरपालिकाले सो बस्तीको समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएको छ । भरैया र इंगुरिया खोलाको बाढीले निम्त्याएको समस्या समाधान गर्न र पक्की पुल निर्माण गर्न नगरपालिकाले ५० लाख रुपैयाँ रकम बिनियोजन गरेको नगर प्रमुख फडिन्द्र प्रसाद शर्माले जानकारी दिए । वर्षायाम सकिए लगत्तै पुल निर्माणको काम थालनी गरिने र जनताका आधारभूत आवश्यकता पुरा गर्न नगरपालिका प्रतिबद्ध रहेको प्रमुख शर्माको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्