तपाईँ सुन्दै हुनुहुन्छः

कोशी अस्पतालमा बिरामी कुरुवाका लागि निःशुल्क दिवा खानाको व्यवस्था

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा बिरामी कुरुवाहरूका लागि निःशुल्क खानाको व्यवस्था मिलाइएको छ ।

बिरामी कुरुवाका लागि विराटनगरका समाजसेवीहरूले नर सेवा नारायण सेवा समूहको नामबाट निःशुल्क खानाको व्यवस्था मिलाएका हुन् । विराटनगरका एक दर्जन उद्योगी तथा समाजसेवीहरूले यो अभियान शुरु गरेका हुन् ।

अस्पताल परिसरमा टेन्ट राखेर बिरामी कुरुवाका लागि हरेक दिन दिवा खानाको व्यवस्था मिलाइएको समूहका सदस्य देवकीनन्दन अग्रवालले बताउनुभयो । त्यहाँबाट दैनिक २ सय देखि २ सय ५० जना कुरुवालाई खानाको प्याकेट वितरण गरिन्छ ।

दशैंको घटस्थापनादेखि शुरु भएको यो अभियान आगामी एक वर्ष सम्म सञ्चालन हुनेछ । एक वर्षका लागी ३५ लाख रुपैयाँ खर्च हुने र सो रकमको व्यवस्था मिलाइएको अग्रवालले बताउनुभयो । अभियानलाई निरन्तर सञ्चालन गर्ने आफूहरूको लक्ष्य रहेको उहाँको भनाई छ ।

निःशुल्क खानाको व्यवस्था मिलाइएपछि आफूहरूलाई निकै सुविधा भएको बिरामी कुरुवाहरूको भनाइ छ । बिरामी कुरुवा मेनुका विश्वकर्माले यो अभियानले गरिब बिरामीका कुरुवाहरूलाई खाना खान सहज भएको बताउनुभयो ।

एक छाकका लागि अहिले दैनिक ११ हजार रुपैयाँ खर्च हुने गरेको छ । एक वर्षका लागि ३५ लाख रुपैयाँ खर्च लाग्ने र सो रकमको समेत व्यवस्था मिलाइएको समूहका सदस्यको भनाई छ । निःशुल्क खाना खुवाउने अभियान शुरु भएपछि खानामा लाग्ने खर्च समेत अहिले स्वतः स्फूर्त रुपमा सङ्कलन हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button