आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
बागलुङ । दसैँको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमा समेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दसैँ तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ ।

दसैँ तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाइमा पर्ने ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि पर्न थालेको हो । कुनै समय ढोरपाटनमा सिकार खेल्न मात्रै पर्यटक आउने गर्थे । सडक मार्गको पहुँच र यस क्षेत्रको प्रचारप्रसारले दसैँअघि र दसैँपछि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप देखिएको हो ।
दसैँ सुरु हुनुभन्दा अघि र दसैँको टीकाको भोलिपल्टदेखि ढोरपाटनमा आन्तरिक पर्यटकको चाप बढी भएपछि होटल तथा घरवास भरिभराउ भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिनुभयो ।
कायतका अनुसार ढोरपाटनमा असोज १५ र १६ गते नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिय बैठक आयोजना गरिएपछि धेरै स्थानमा ढोरपाटनको महत्वले थप व्यापकता पाएको छ । तीन दिनदेखि ढोरपाटनका सबै होटल तथा सामुदायिक घरबासहरु आन्तरिक पर्यटकहरूले भरिभराउ भइरहेको ढोरपाटन सामुदायिक होटेलका सञ्चालक सुरज पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार ढोरपाटनमा बागलुङसहित छिमेकी जिल्ला म्याग्दी, पर्वत, कास्की (पोखरा), गुल्मी, चितवन र नारायणगढ लगायतको स्थानबाट बढी मात्रामा पर्यटक आएको पाइएको छ । सिकार आरक्षमा सिकार खेल्न विदेशी पर्यटक दुई याममा ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत आउने भएकाले ढोरपाटन उपत्यका आन्तरिक पर्यटककै भरमा छ ।
गत आर्थिक वर्षमा सात हजार ६ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । जसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । दसैँ तिहारमा फुर्सदको समयलाई सदुपयोग गर्नसमेत पर्यटकीय स्थलमा घुम्न जाने संस्कारको विकास भइरहेको छ ।
आन्तरिक पर्यटकहरू ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि त्यहाँ पुग्ने गरेका छन् । त्यसमध्ये ढोरपाटन शिकार आरक्षभित्रको जलजला पुग्ने पर्यटकको लर्को रहेको दसैँको भोलिपल्ट ढोरपाटन घुम्न गएका आन्तरिक पर्यटक नारायण रिजालले बताउनुभयो ।
त्यहाँ पुगेका पर्यटक घोडा सफारी र बाइकमार्फत जलजला पुग्ने गरेको रिजालको भनाइ छ । जलजलाबाट एक दर्जन हिम शृङ्खला देख्न पाइने उहाँको भनाइ छ । ढोरपाटनमा विदेशी सिकारी भने नाउर र झारलको वैधानिक सिकार खेल्न आउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्