तपाईँ सुन्दै हुनुहुन्छः

ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ

सल्यान । सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 जिल्लाको बागचौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीको कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय दुई युवालालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ स्यालागाउँका २५ वर्षीय केशर वली र सोही ठाउँका २३ वर्षीय सन्तोष वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 कुटपिट गरी फरार भएका सन्तोषलाई दाङ तुलसीपुर उपमहानगरपालिका १२ रझेना र केशरलाई बागचौर नगरपालिका ९ मौरीघारे परीलेखमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट पक्राउ पुर्जी स्वीकृति गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखिएको उहाँको भनाई छ । 

यही कात्तिक ४ गते दिउँसो बागचौर नगरपालिका ७ स्थित उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल खेल्न जम्मा भइरहेको अवस्थामा केशर वली र शङ्कर वलीले मादक पदार्थ सेवन गरी केशर वलीले ए भाइ तेरो दाइलाई ढोग गर भन्दै आफूलाई खुट्टा ढोग्न लगाउँदा घनश्यामले मैले किन तपाईँलाई खुट्टामा ढोग्ने,ढोग्दिन भने पछि केशर वली र घनश्याम वली बिच हात हालाहाल हुँदा केशर वली र सन्तोष वलीले घनश्यामलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । 

घाइते घनश्यामको भारतको नानपारामा उपचारका क्रममा बुधबार ( ८ गते) मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button