माओवादी घटक दलहरू बीचको एकता आवश्यक : प्रधानमन्त्री
रुकुम । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान माओवादी घटक दलहरू बीचको एकताको अभियान पनि रहेको बताउनुभएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्नुहुँदै उहाँले अब माओवादीबाट फुटेर गएका दलहरूबीच एकता आवश्यक छ भन्नुभयो । “हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो ।”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले निकै बलियो सरकार बनाएका छौँ । यो सरकार पाँच वर्ष नै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनका विरुद्ध लागेको पनि देखियो । अन्ततः कोशीमा पनि गठबन्धनकै सरकार बन्छ ।” सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताउनुभयो । “हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ । अझै पनि बलियो हुने छ । ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन् ।” प्रधानमन्त्री दाहालले भन्नुभयो ।
वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले मिटर व्याजीलाई कारबाही गरेका छौँ । नक्कली भुटानी शरणार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौँ । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरूको ठूलो साथ र सहयोग रहेको छ ।”








प्रतिक्रिया राख्नुहोस्