शीत भण्डार सञ्चालनमा नगरले सक्दो सहयोग गर्छ : नगरप्रमुख अर्याल
नवलपरासी । पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर २ मुखियाटोलमा ३ हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भएपनी पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।शीत भन्डार निर्माण भएको लामो समय भैसकेपनी निर्माण पक्षले त्यसको भुक्तानी पाएको छैन ।केही दिन अघि मात्र शीत भण्डारको परीक्षण प्रयोग गरिएको थियो ।सञ्चालनको जिम्मा र यसको स्वामित्व कसले लिने भन्ने अन्यौलका बिच नगरपालिकाका जिल्ला सहकारी सङ्घले तदारुकता देखाएका छन् ।
जिल्ला सहकारी सङ्घद्वारा निर्मित शीत भण्डारण परीक्षण प्रयोगमा ल्याइएता पनि निर्माण पक्षलाई भुक्तानी गर्न गाह्रो भएको जिल्ला सहकारी सङ्घले जनाएको छ ।
प्रदेश सरकारबाट पाउनुपर्ने रकम नपाएको,स्थानीय पालिकाहरूले समेत अर्को पालिकामा लगानी गर्न नमिल्ने भन्दै पन्छिन थाले पछि भुक्तानी मा समस्या भएको र त्यसको विकल्पको खोजी भइरहेको जिल्ला सहकारी सङ्घ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेलको भनाई छ ।
सुनवल नगरपालिकामा वनेको शीत भण्डारलाई सञ्चालन गर्न सुनवल नगरपालिकाले नगरपालिका भित्रका सहकारीहरू सँग विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । शीत भण्डारणले यस क्षेत्रका कृषकहरूलाई उत्साहित बनाएको हुँदा सुनवल नगरपालिका शीत भण्डार सञ्चालनको लागी प्रत्यनशिल रहेको सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले रेडियो नेपाललाई जानकारी दिनुभयो।
“आफ्नै नगरभित्रको शीत भन्डार हो यसको योजना ल्याउँदा पनि हामी सङ्घ सरकारमा डेलिकेसन गएरै बजेट पारेका हौ,अब समय लागे पनि अलपत्र हुन त दिन्नौ किसान सँग जोडिने कुरा हो”तर सबैको सहयोग आवश्यक छ”अर्यालले भन्नू भयो।”कृषि क्षेत्रको विकासका लागि उत्पादन जरुरी छ उत्पादनको सुरक्षा पछि नै बजारीकरण गर्न सकिने हुँदा किसानको मर्म बुझेका छौ,निकै प्रयत्नशील छौ” नगरप्रमुख अर्यालको भनाई छ ।
यता सहकारीहरूको संयुक्त सहकार्यमा शीत भण्डारणको परीक्षण प्रयोग गरिएको छ । आफूहरूको लगानी गरेको शीत भण्डारण प्रयोगमा आउँदा त्यसको सकारात्मक प्रभाव पार्ने भन्दै कृषकहरूले उत्पादनमा जोड दिनुपर्ने त्यसको लागी प्राविधिक ज्ञान सिप र वालिको व्यवस्था गर्नुपर्ने जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दयाराम भडारीले बताउनु भयो ।
२५ करोड लागत स्टीमेट रहेको शीत भण्डार २० करोड ९८ लाखमा टेन्डर स्वीकृत भएको थियो । १८ महिनामा सम्पन्न गर्ने गरी विक्याट विल्डर्स काठमाडौँले वि.स. २०७६ सालमा सम्झौता गरेको थियो ।
नेपाल सरकारको ६० प्रतिशत , स्थानीय पालिकाहरूबाट २० प्रतिशत र सहकारी सस्थाहरुबाट २० प्रतिशतमा निर्माण गर्ने गरी सुरु भएको शीत भण्डार कोभिडका कारणले ४ वर्ष पछि मात्र सञ्चालनको तयारी भएको छ । तर वोलकवोल गरेका निकायहरुले सहयोग नगर्दा समयमै भुक्तानी गर्न नसकिएको जिल्ला सहकारी सङ्घले जनाएको छ । जिल्लामा सुनवल र सुस्तामा शीत भण्डार निर्माण भएपनी दीर्घकालीन योजना नहुँदा सञ्चालनमा कठिनाइ भएको छ ।
शीत भण्डारको दीर्घकालीन प्रयोग गरी आम किसानलाई लाभान्वित बनाउन नगरपालिका लागि पर्ने नगरप्रमुख विमला अर्यालले प्रतिबद्धता व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्