तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजार सुनसान तर भारतीय बजारमा किनमेल गर्नेको भीड

बाँके । नेपालमा चाड पर्व सुरु भएपनि व्यापार भने भारतीय बजारको हुने गरेको छ । हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपईडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ । नेपालीहरूको महान् चाड दसैँ शुरु भइसकेपनि नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामी नसक्नु छ ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा हेल्प डेस्क नै स्थापना गरेर उनीहरूलाई भन्सार राजस्व तिर्न लगाउन शुरु गरेको छ । तर, पनि किनमेलका लागि सीमापारि जाने नेपालीहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

भारतबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउनेहरूसँग नेपालगञ्ज भन्सार कार्यालयले नाकामा राजस्व असुलीमा कडाइ पनि शुरु गरेको छ । पछिल्लो समयमा भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याइरहेका छन् ।

सीमापारि सामान खरिदका लागि जाने नेपालगञ्ज, कोहलपुर, बासगढी र भुरीगाउँ लगायतका उपभोक्ताले भन्सार राजस्व तिरेर पनि रुपैडिहामा सामान सस्तो पर्ने गरेकोले उतैबाट ल्याउने गरेको जनाएका छन् ।

नाकामा भेटिनु भएका कोहलपुर १२ का कमला जैसिले सीमापारिबाट चामल र चिनी लगायतका सामान ल्याएर भन्सार तिर्दा पनि नेपालगञ्ज र कोहलपुरभन्दा निकै सस्तो परेकोले ल्याएको बताउनुभयो । 

उहाँले नेपालगञ्ज र कोहलपुरमा चाडपर्वको बेला व्यवसायीले मनपरी तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेकोले बाध्य भएर सीमापारि गएर सामान ल्याउनु परेको बताउनुभयो।

नाकामा गएर हो हल्ला गर्दैमा वा हेल्प डेस्क राख्दैमा सीमापारिबाट हुने खरिदारी नरोकिने अधिकांश उपभोक्ताको भनाई छ । नेपालगञ्ज १२ का शिवम बर्माले रुपैडियाबाट ल्याएको धेरैजसो उपभोग्य सामानको भन्सार तिरेर ल्याउँदा पनि यहाँभन्दा सस्तो पर्ने गरेकोले आफूले राजस्व तिरेर चामल, दाल, चिनी लगायतका उपभोग्य सामान ल्याउने गरेको बताउनुभयो । 

रुपैडिहाका व्यवसायी फैज अन्सारीले अहिले धेरै ठुलो सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आइरहेकोले एक मिनट पनि फुर्सद नपाइएको जनाउँदै अन्य दिनको तुलनामा अहिले तेब्बर भन्दा बढी बिक्री बढेको बताउनुभयो । 

उहाँले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाउ र दाङ तथा सुर्खेतसम्मबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ताहरू यहाँ आइरहेको बताउनुभयो । 

सीमापारिको बजारमा अत्यधिक भिड भएपनि हालसम्म नेपालगञ्जमा भने खासै चहल–पहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा चहलपहल नबढेको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताउनुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि नेपालगञ्ज सुनसान र सीमापारि भिडभाड कसरी भयो भन्ने कुराको अनुसन्धान गरिरहेको जनाएको छ । सङ्घका अध्यक्ष टङ्क धामीले भन्सारमा झनै कडाइ गर्नुपर्ने जनाउँदै नेपालगञ्जका व्यवसायीले सामानको के कस्तो मूल्य निर्धारण गरेका छन् त्यसको पनि अनुगमन गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button