मुस्ताङबाट ५ हजार ७ सय ५० भेडा–च्याङ्ग्रा निकासी
पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ५ हजार ७ सय ५० वटा भेडा च्याङ्ग्रा निकासी भएका छन् ।
नेपालीहरूको महान् पर्व वडा दसैँको अवसरमा बिक्री गर्ने उद्देश्यले मुस्ताङबाट सोमबारसम्म ५ हजार ७ सय ५० वटा भेडा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले जानकारी दिनुभयो ।

यस वर्ष आफूहरूले डोल्पा क्षेत्रबाट करिब ४ हजार भेडा च्याङ्ग्रा आउने अपेक्षा गरे पनि हालसम्म १ हजार ३ सय मात्र आएको उहाँले बताउनुभयो । उपल्लो मुस्ताङ (लोमान्थाङ) सहितका मुस्ताङ क्षेत्रबाट उत्पादन भएका करिब ४ हजार ४ सय ५० वटा भेडा च्याङ्ग्रा जोमसोमबाट बेनी हुँदै पोखरा, काठमाडौँ लगायतका क्षेत्रका लागि निकासी भएको निमित्त कार्यालय प्रमुख पोखरेलले उल्लेख गर्नुभयो ।

गत वर्ष प्रति भेडा च्याङ्ग्रा मुस्ताङमा ३२ देखि ३४ हजारमा बिक्री भएको थियो भने यस वर्ष गत वर्षको तुलनामा केही बढी मूल्य ३७ हजार देखि ४० हजारमा बिक्री भएको बताइन्छ ।
करिब एक साता देखि मुस्ताङमा भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरिँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनुभयो । प्रति भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्दा १५ रुपैयाँ शुल्क लाग्ने गरेको छ ।
पोखरामा विक्री शुरु
यसैबिच, मुस्ताङमा हुर्काइएका भेडा च्याङ्ग्रा पोखरामा बिक्री वितरण गर्न सुरु भएको छ ।

यस वर्षको लागि पोखरामा पहिलो चरणमा आफूहरूले माथिल्लो मुस्ताङ लोमान्थाङ क्षेत्रबाट ३ सय ६५ वटा भेडा च्याङ्ग्रा बिक्रीको लागि ल्याएको पोखरा बगर स्थित सम्झना फ्रेस हाउसका सञ्चालक रमेश खड्काले बताउनुभयो ।
मुस्ताङबाट आफूहरूले भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरी ८ दिनमा पोखरामा भेडा च्याङ्ग्रा ल्याएको उहाँले बताउनु भयो । प्रति भेडा च्याङ्ग्राको ५० हजारसम्म पर्ने बताउँदै उहाँले प्रति केजी तयारी मासु खुद्राको रुपमा २ हजार १ सयमा बिक्री गरेको जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्