‘पूर्ण क्षमतामा अदालत सञ्चालन गर्न गम्भीर र संवेदनशील छौँ’
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले तीनै तहका अदालतमा रिक्त न्यायाधीशको पूर्ति गरेर पूर्ण क्षमतामा अदालत सञ्चालन गर्नेतर्फ गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।
उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटनका क्रममा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई कम गर्दै जनताको सहज पहुँच र छिटो छरितो न्याय सम्पादनमार्फत अदालतप्रति जनविश्वास बढाउन अग्रसर रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले पाटन अदालतको नवनिर्मित भवनबाट हुने न्यायसम्पादनले सर्वसुलभ, गुणस्तरीय र सहज पहुँचमार्फत न्यायालयको जनविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयमा उच्च कार्यबोझ र जनशक्तिको कमी रहेको बताउँदै अदालतको भौतिक पूर्वाधार निर्माण सरोकारवालाको प्राथमिकता नपरेको गुनासो गर्नुभयो ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाले न्यायालयबाट सम्पादित न्याय भरोसा योग्य र जनविश्वास जगाउने हुनुपर्ने बताउनुभयो ।
वरिष्ठतम न्यायाधीश खतिवडाले न्यायपरिषद् र न्यायालयबाट गर्ने सबै काम कारवाहीको औचित्य, आधार र कारण रहेको भन्दै यसमा प्रश्न गर्नुपर्ने औचित्य नभएको बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वतन्त्रता मात्र नभएको भन्दै स्वतन्त्र न्यायपालिकाको मान्यता अनुरुप साधनस्रोत र आर्थिक स्वतन्त्रता पनि महत्वपूर्ण हुने बताउनुभयो ।
उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलले सीमित स्रोतसाधनका बीच भवन निर्माण कार्य सम्पन्न भएको र यसले कार्य वातावरण प्रभावकारी बनाउँदै न्याय सम्पादनमा सहजता थप्ने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भवन निर्माणसँगै यसको मर्मत र सरसफाई महत्वपूर्ण पाटो रहेको बताउँदै यसतर्फ ध्यान दिन सुझाव व्यक्त गर्नुभयो ।
नेपाल बार एसोसिएसन पाटन बारका अध्यक्ष शान्तिराम खतिवडाले पाटन अदालतले उच्च कार्यबोझका बाबजुद गरिरहेको मुद्दा फर्छ्यौट राम्रो पक्ष रहेको बताउनुभयो ।
अध्यक्ष खतिवडाले न्यायपरिषद्ले योग्यता क्रममा फेरबदल हुने गरेको गरेको नियमावली संशोधनमा असन्तुष्टि रहेको बताउँदै त्यसलाई सच्याइनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्