राप्तिसोनारीको जङ्गलमा देखा पर्यो पाटेबाघ, सावधानी अपनाउन आग्रह
बाँके। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित राप्तीपीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा पाटेबाघ देखा परेको छ । वनमा गएका स्थानीय बासिन्दाले उक्त बाघलाई फेला पारेका हुन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले सामुदायिक वन क्षेत्रमा पाटेबाघ पुनः देखा परेको जानकारी दिनुभएको छ । ‘राप्ती पीडित तथा गुलरी सामुदायिक क्षेत्रमा पुनः बाघ देखा परेको छ, जङ्गल प्रवेश गर्दा समूह बनाएर मात्र प्रवेश गर्नुहोला,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । दुई वर्षअघि मात्र सोही सामुदायिक वन क्षेत्रमा पाटे बाघले आतङ्क मच्चाएको थियो ।
पाटे बाघले मानिसको ज्यान लिनुका साथै थुप्रै पशु चौपायामाथि आक्रमण गरेको थियो । बाघले दिनहुँजसो मानिस र पशु चौपायामाथि आक्रमण गर्ने क्रम नरोकिएपछि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जले बेहोस बनाएर नियन्त्रणमा लिई चितवन पुर्याएका थिए ।
विगतको घटनालाई स्मरण गर्दै वडाअध्यक्ष खरेलले सावधानी अपनाउन विशेष आग्रह गर्नुभएको छ। उक्त क्षेत्र डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्र भित्र पर्दछ ।डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले पाटेबाघ अहिले जङ्गलमा देखा परेकाले घाँस, दाउरा र पशु चौपाया चराउन जाँदा सजगता अपनाउनुपर्ने बताउनु भयो ।
‘जङ्गलमा जाँदाखेरी विशेष सावधानी अपनाउन राप्तीपारीका बासिन्दालाई आग्रह गर्दै सकभर यो समयमा जङ्गलमा प्रवेश नगर्दा राम्रो हुन्छ, यदि प्रवेश गर्नै परेको खण्डमा समूह बनाएर मात्रै जानु हुन अनुरोध गर्नुभएको ‘बाघको पनि एउटा एरिया हुन्छ, सधैँ एकै ठाउँमा बस्दैन, बाघले अहिले राप्तीपारी क्षेत्रमा हानी नोक्सानी गरेको कुरा हामीलाई जानकारी छैन, तर बाघ देखा परेपछि सजगता अपनाउनै पर्छ उहाँले भन्नुभयो।’
दुई वर्षअघि राप्ती सोनारी र नरैनापुर क्षेत्रभित्र एक महिनाको अन्तरमा मात्रै पाटे बाघले ५ जनाको ज्यान लिएको थियो, भने दर्जनौँ पशु चौपाया मार्नुका साथै घाइते बनाएको थियो ।







प्रतिक्रिया राख्नुहोस्