तपाईँ सुन्दै हुनुहुन्छः

नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई दिने घोषणा

स्टकहोम। समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई मङ्गलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय फोसालाई व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्ने शैलीका लागि पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।

फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्नुहुन्छ, जसलाई फोसाको न्यूनतावाद (फोसा मिनिमलिजम) को सङ्ज्ञा दिइन्छ । उहाँले न्यूनतम तथा सरल भाषामा निर्भर भई लय, माधुर्य र मौनताको माध्यमबाट आफ्नो सन्देश आफ्ना नाटक, काव्य तथा अन्य कृतिमा दिनुहुन्छ ।

फोसाको लेखनलाई ‘विषयवस्तुभन्दा रूपले बढी परिभाषित गरिएको छ, जहाँ जे भनिएको छैन त्यो प्रायः के हो भन्दा बढी प्रकट हुन्छ’ ।

फोसाले यस प्रतिष्ठित पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिनुभएको छ ।

फोसाको जन्म सन् १९५९ मा भएको हो । उहाँका ४० नाटक, केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो ।

अब शुक्रवार शान्ति र सोमवार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button