तपाईँ सुन्दै हुनुहुन्छः

दशैं नजिकिँदै गर्दा समेत वीरगंजमा चहल पहल बढेन

वीरगंज । हिन्दुहरूको महान् पर्व दशैँ नजिकिँदै गर्दा वीरगञ्जका बजारहरूमा भने खासै चहलपहल देखिएको छैन । विगतमा चाडपर्वको एक महिना अघिबाट ग्राहकले भरिभराउ हुने मुख्य बजार यतिबेला सुनसान बनेको कारण व्यापारीहरू फुर्सदिला भएका छन् । 

कोभिड महामारी लगतै आर्थिक सङ्कटबाट तग्रिन नपाउँदै बढ्दो महँगीको कारण नेपालीहरू थप मारमा परेका छन् । सरकारले मुलुकमा आर्थिक संकट उत्पन्न नभएको दाबी गरेपनि दिन प्रतिदिनको व्यापार घाटाले उद्योगी व्यवसायीले बैङ्कको ऋण तिर्न सकेका छैनन् । 

चाडबाडको समयमा थोरै भएपनि व्यापार हुने आस गरेका व्यापारीहरूले दशैँ आउन केही दिन बाँकी रहँदा समेत बजारको अवस्थामा सुधार नआएपछि केहीले पसल खाली गरेका छन् भने केहीले आफ्नो पसल बिक्रीमा राखेका छन् । 

उनीहरूले व्यापार नभएको कारण महिनौँदेखि साहुलाई भाडा तिर्न नसकेको गुनासो गरेका छन् । वीरगञ्जको माईस्थानमा कपडा पसल सञ्चालन गर्दै आएका व्यापारी अनिलकुमार गुप्ताले पसलमा ग्राहक आउनै छाडेको बताउनुभयो । 

उहाँले महँगीका कारण ग्राहकहरू किनमेलका लागि  रक्सौल जाने गरेको गुनासो गर्दै यही अवस्था रहेमा पसल बन्द गरेर बस्नु पर्ने बताउनुभयो । 

यस्तै दैनिक उपभोग्य बस्तुको मूल्य आकासिँदा उपभोक्ताको भान्सा नराम्ररी प्रभावित भएको छ । मन्दीको कारण खाद्य सामाग्रीमा भएको मूल्यवृद्धिले आफूहरू थप मारमा परेको गुनासो वीरगंजका गृहिणीहरूको छ । भूकम्पदेखि विभिन्न आन्दोलनको सामना गरेको वीरगञ्जले यस्तो आर्थिक मन्दी कहिल्यै नभएको भन्दै चिन्ता प्रकट गरेका छन् । 

सरकारको गैरजिम्मेवारीपन र राष्ट्र बैङ्कको गलत नीतिले उद्योगी व्यवसायीहरू मारमा परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले जानकारी दिनुभयो । 

उहाँले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका ९० प्रतिशत उद्योगहरू बन्द हुने अवस्थामा आउँदा समेत सरकार मुखदर्शक भएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button