बढी प्रभावित क्षेत्र कागबेनीमा मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढी प्रभावित क्षेत्र मुस्ताङको कागबेनी क्षेत्रको पुन निर्माणका लागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताउनु भएको छ ।
बुधबार प्रभावित क्षेत्रको अवलोकन गर्दै उहाँले कागबेनी क्षेत्रको पुन निर्माण गर्ने विषयमा स्वदेश तथा विदेशबाट समेत प्रदेश सरकारको पहलमा सबै खाले प्रयास केन्द्रित गरी पुनः निर्माण गर्ने अभियानमा लाग्ने बताउनु भएको हो ।

बाढीले कागबेनी क्षेत्रमा ठुलो क्षति पुगेकाले सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा सबैको सामूहिक प्रयास केन्द्रित गर्दा पुनर्निर्माण सहज र छिटो हुने बताउँदै मुख्यमन्त्री पाण्डेले यसकालागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेको उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो “प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने छौँ त्यसका साथै दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागबेनी पुन निर्माण अभियानमा साथ दिने छौँ, प्राकृतिक विपत्तिसँग हामीले जुध्न सक्दैनौँ तर यसबाट शिक्षा लिएर अबको पुन निर्माणमा ध्यान दिन्छौँ । ”
कागबेनी क्षेत्रमा बाढीले भत्काएका सामाजिक तथा व्यक्तिगत संरचनाहरू, गुम्बा, धर्मशाला, पुल तथा सामूहिक भवन लगायतको मुख्यमन्त्री पाण्डले स्थलगत निरीक्षण गर्दै विगतका वर्षभन्दा यस वर्ष गण्डकी प्रदेश सरकारले मनाङ, मुस्ताङ लगायत उच्च हिमाली जिल्लामा योजना र बजेटलाई वृद्धि गरेको दाबी गर्नु भयो । मुख्यमन्त्री पाण्डेले आवश्यकता धेरै, प्रदेशको स्रोत साधन थोरै हुँदा सबै अपेक्षा एकै पटक पुरा गर्न नसकिएको उल्लेख गर्दै प्राथमिकताका आधारमा योजनालाई अघि बढाउने जनाउनु भयो ।

साउन २८ गते बाढी आए लगत्तै हेलिकप्टरमा स्थलगत निरीक्षण गर्न आउने तयारी रद्द गरी मुख्यमन्त्री पाण्डेले हेलिकप्टर भाडामा तिर्ने पैसा कागबेनीको उद्धार र राहतमा पठाई तत्कालीन समयमा सदनमा समेत जानकारी गराउनु भएको थियो । बाढीलगत्तै कागबेनीको उद्धार र राहतका लागि गण्डकी प्रदेश सरकारले अवरुद्ध सडक खुलाएर इन्धन ढुवानी, टेन्ट, कम्बल लगायतका सामग्री उपलब्ध गराएको थियो । सो क्षेत्रमा बाढीबाट करिब एक अर्बको क्षति भएको स्थानीयले बताउनु भएको छ ।
निरीक्षणमा मुख्यमन्त्री पाण्डे, मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु विकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचन, प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, गण्डकी प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला सुरक्षा समिति, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्