सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न बाँके प्रशासनको चेतावनी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न अपिल गरेको छ ।
बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण प्रकाशन नगर्न/नगराउन चेतावनी दिएको हो ।
‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार(प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।
साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ ।
बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने सङ्केत देखिएपछि मङ्गलवार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ भने बुधबार पनि कर्फ्यु यथावत् नै छ।
स्थानीय प्रशासन ऐन २०२८ को ६ (क) मा कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।
कर्फ्युको बेला आवत-जावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ ।
गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय दिन सक्छ ।









प्रतिक्रिया राख्नुहोस्