नेकोस खेलकुद महोत्सव पोखरामा सुरु
पोखरा । नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत पोखरामा आज (शनिबार) देखि दुई वटा खेलकुद प्रतियोगिताको प्रतिस्पर्धा सुरु भएको छ ।
नेकपा समाजवादी निकट नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस) को आयोजनामा पोखरामा भएको योगखेल (योगस्पोट्र्स) र स्केटबोडको प्रतियोगिता पोखरामा शनिबार देखि सुरु भएको नेकोसले जनाएको छ ।
उक्त खेलकुद महोत्सवमा १० खेलहरू मध्यको दुई खेल पोखरामा शनिबार देखि सञ्चालन भएको महासङ्घका अध्यक्ष केशव कुमार विष्टले बताउनुभयो । पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगितामा महिला पुरुष गरी सातै प्रदेशका १ सय १२ जना खेलाडीहरू सहभागी भएको उहाँले बताउनुभयो ।
आइतबारसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताको शुभारम्भ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुभएको हो । कार्यक्रममा उहाँले पोखरा पर्यटन सहित अब खेलकुदको समेत केन्द्र भएको दाबी गर्नुभयो ।
उक्त महोत्सवको औपचारिक उद्घाटन भने यही असोज २० गते नेकपा समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुने भएको छ ।
महोत्सव अन्तरगत राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, वि–बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाक्ताक्रो, बुद्धिचाल, योगखेल र स्केटबोर्ड समेटिएको महासङ्घले जनाएको छ ।
उक्त खेलकुद महोत्सव सम्पन्न गर्न करिब २ करोड खर्च लाग्ने भएको अध्यक्ष विष्टले बताउनुभयो । हालसम्म ओझेलमा परेका तर पदकको सम्भावना भएका खेलहरूको प्रवर्द्धन गर्न पनि पहिलो चरणमा १० वटा खेलबाट महोत्सवको सुरुवात गर्न लागेको अध्यक्ष विष्टले बताउनुभयो ।
महोत्सवमा सातै प्रदेशका करिब १ हजार ५ सय खेलाडीहरूको सहभागिता हुने उहाँले जनाउनुभयो ।
प्रतियोगितामा विजेतालाई ३ हजार, उपविजेतालाई २ हजार र तेस्रो हुनेलाई एक हजार नगदसहित पुरस्कारको व्यवस्था गरिएको विष्टले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्