तपाईँ सुन्दै हुनुहुन्छः

नेकोस खेलकुद महोत्सव अन्तर्गत पोखरामा दुई खेल हुने 

पोखरा । नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत पोखरामा दुई खेल हुने भएका छन् । नेकपा समाजवादी निकट नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस) को आयोजनामा यस बर्ष हुने उक्त खेलकुद महोत्सवमा १० खेलहरू मध्य पोखरामा दुई खेल मात्र हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

पोखरामा यही असोज १३ र १४ गते योगखेल (योगस्पोट्र्स) र स्केटबोर्ड प्रतियोगिता हुने तयारी गरिएको महासङ्घका अध्यक्ष केशव कुमार विष्टले बताउनु भयो । पोखरा रङ्गशालामा हुने उक्त प्रतियोगितामा खेलाडी सहित अफिसियलहरु गरी करिब २ सय जना सहभागी हुने भएको उहाँले उल्लेख गर्नु भयो । उक्त महोत्सवको औपचारिक उद्घाटन यही असोज २० गते नेकपा समाजबादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट हुने भएको छ भने पोखरामा हुने प्रतियोगिताको शुभारम्भ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुहुने भएको महासङ्घले जनाएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव समेत रहनु भएका अध्यक्ष विष्टले महोत्सव अन्तर्गत एक खेल हेटौँडामा बाँकी ७ खेल भने काठमाण्डौं र ललितपुरमा हुने भएको जानकारी दिनु भयो । उक्त महोत्सव अन्तर्गत राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, वि–बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाक्ताक्रो, बुद्धिचाल, योगखेल र स्केटबोर्ड समेटिएको महासङ्घले जनाएको छ ।  

उक्त खेलकुद महोत्सव सम्पन्न गर्न करिब २ करोड खर्च लाग्ने भएको अध्यक्ष विष्टले बताउनु भयो । सरकारी निकाय सहित विभिन्न दाताबाट उक्त रकमको व्यवस्थापन गरिने भएको विष्टले जनाउनु भयो । राष्ट्रिय खेल भलिबल, चर्चामा रहेका केही खेल र हालसम्म ओझेलमा परेका तर पदकको सम्भावना भएका खेलहरूको प्रबद्र्धन गर्न पनि पहिलो चरणमा १० वटा खेलबाट महोत्सवको सुरुवात गर्न लागेको अध्यक्ष विष्टले बताउनु भयो । 

महोत्सवमा सातै प्रदेशका करिब १ हजार ५ सय खेलाडीहरूको सहभागिता हुने भएको उहाँले जनाउनु भयो। प्रतियोगितामा विजेतालाई ३ हजार, उपविजेतालाई २ हजार र तेस्रो हुनेलाई एक हजार नगद सहित पुरस्कारको व्यवस्था गरिएको विष्टले बताउनु भयो । खेलकुद महोत्सवमा पनि खेलाडीलाई पुरस्कार राशि किन कम भयो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष विष्टले खेलाडीहरूको सामान्य प्रोत्साहनको लागि टोकनमनिको रुपमा मात्र पुरस्कार व्यवस्था गरिएको उल्लेख गर्नु भयो । 

खेलाडीहरूको लागि राज्यले हेर्नुपर्ने उहाँको भनाई छ । नेकोस समाजबादी कास्कीका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको प्रदेश सचिव डा.डिलाराम लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button