तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डबीच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारी रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ । 

सिंहदरबारमा आज आयोजित कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र वैदेशिक रोजगार बोर्डका उपसचिव राजन पौडेलबीच २०८० असोज २५ देखि २०८१ असार मसान्तसम्म कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने  सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालबाट कार्यक्रम प्रसारण भएपछि विदेश जाँदा सिप सिकेर जानुपर्ने, वैदेशिक रोजगारीका क्रममा घाइते, अपाङ्गता भएमा बोर्डले सहयोग गर्ने लगायतका सूचनाबाट धेरै लाभान्वित हुने बताउनुभयो । 

कार्यकारी निर्देशक केसीले ९१ प्रतिशत जनसङ्ख्यामा रेडियो नेपालको पहुँच भएको, अनलाइन माध्यम, एप तथा ३० वटा रिले स्टेशन मार्फत वैदेशिक रोजगार लगायतका कार्यक्रम सुन्न सकिने हुँदा धेरै जनतालाई प्रभाव पार्ने  बताउनुभयो । 

कार्यकारी निर्देशक केसीले कार्यक्रमलाई फिल्डमा नै गएर वैदेशिक रोजगारीबाट दुख पाएका व्यक्तिका कथा सुनाउने कार्यलाई जारी राख्ने र रेडियोले अझै प्रमोसनका कामलाई तीव्रता दिने जानकारी दिनुभयो । 

यसैगरी वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अबको कार्यक्रमलाई मधेस केन्द्रित बनाई मैथिली र भोजपुरी भाषामा प्रसारण गर्नुपर्ने बताउनुभयो । 

वैदेशिक रोजगार बोर्डका उपसचिव राजन पौडेलले विदेशबाट फर्केका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले बोर्डमा सम्पर्क गरी लाभ लिन पनि अनुरोध गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button