तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा काभ्रे कारागारका १० जना कैदीबन्दी रिहा

काभ्रेपलाञ्चोक । संविधान दिवसको अवसरमा काभ्रेपलान्चोक जिल्ला कारागारबाट १० जना कैदी छुटेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका १० जना कैदीलाई आज बुधबार रिहा गरिएको छ ।

काभ्रेपलाञ्चोक, रामेछाप, मकवानपुरका १० जना कैदीलाई संविधान दिवसको अवसरमा रिहा गरिएको काभ्रेपलान्चोक जिल्ला कारागार कार्यालयले जनाएको छ । बहुविवाहमा ४ जना, सवारी ज्यान मुद्दाका ३ जना, कर्तव्य ज्यानका १ जना, ज्यान मार्ने उद्योग मुद्दाका १ र डाका चोरी मुद्दाका १ जना गरी १० जना रिहा भएका हुन् ।

रिहा हुनेहरूमा बहुविवाह मुद्दाका काभ्रे बनेपा ११ का रुपेश काफ्ले, पाँचखाल नगरपालिका ३ का लक्ष्मण तामाङ, नमोबुद्ध ५ कानुपरका अमृत भनिने अमृत राज बडाल र बनेपा ११ का प्रदीप थापा रहेका छन् । सवारी ज्यान मुद्दामा रिहा हुनेहरूमा मकवानपुरका अभिषेक लामा, रामेछापका रोशन घिमिरे, काभ्रे रोशी ४ का सानु तामाङ रहेका छन् । डाकाचोरी मुद्दामा काभ्रे मण्डनदेउपुर १२ का पेम्पा लामा, कर्तव्य ज्यान मुद्दाका काभ्रे नमोबुद्ध ८ डराउनेपोखरीका गणेश बहादुर लाखे, ज्यान मार्ने उद्योग मुद्दाका पाँचखाल १२ का रमेश दनुवार रहेका छन् ।

५० प्रतिशत कैद भुक्तान गरेकाको बाँकी कैद संवैधानिक व्यवस्था अनुसार सरकारले माफी मिनाहा गरेकोले रिहा गरिएको जेलर परशुराम थापाले जानकारी दिए । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले सरकारमार्फत कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button