समतामुलक समाजको निर्माण गर्नु हामी सबैको साझा दायित्व : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताउनुभएको । उहाँले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि बताउनुभयो ।
काठमाडौंको टुँडिखेलमा आज बिहान आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्नुहुदै कार्यवाहक प्रधानमन्त्री खड्काले सो कुरा बताउनुभएको हो ।
सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने भन्दै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्ने बताउनुभयो ।
जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ ।
उहाँले डेंगु रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको पनि बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले देशको पूर्वी पहाडी भूभाग लगायत विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो जस्ता विपद्का कारण भएको जनधनको क्षतिमा तत्काल राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रदेश र स्थानीय तहको समेत समन्वयमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो ।
उहाँले संविधानको मर्म र भावना बमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरिएको बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको बताउनु भयो । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानप्रति आग्रह र पूर्वाग्रह नराखी नागरिकको हितमा जुट्न आह्वान गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । उहाँले संविधान देशको मूल कानुन हुनका साथै सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण भएको बताउनुभयो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएकाले समारोहमा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संवैधानिक निकाय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो।








प्रतिक्रिया राख्नुहोस्