संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विभूषण वितरणलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सुझाव दिनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका अनुभवहरूको समेत अध्ययन सहित एक महिना भित्र प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट वितरण हुँदै आएका विभूषण कार्यदलको प्रतिवेदन नआउँदा सम्मका लागि स्थगित गर्ने र पछि सोही कार्यदलको सिफारिस बमोजिम वितरण गर्ने निर्णय भएको सञ्चार मन्त्री शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लाग्नुभएको चीन भ्रमण स्वीकृत गरेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले चिनियाँ पक्षसँग नेपालको ऊर्जा, भौतिक पूर्वाधार, कृषि तथा शिक्षा लगायतका क्षेत्रको विकासका सन्दर्भमा छलफल गर्ने गरी दुई पक्षीय कुराकानी भइरहेको तर एजेण्डाबारे अन्तिम निर्णय भने हुने बाँकी रहेको सञ्चारमन्त्री शर्माले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले कर प्रणालीको सुधारका लागि पूर्व मन्त्री विद्याधर मल्लिकको नेतृत्वमा एक समिति गठन गर्ने, नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ लिमिटेड र नेश्नल ट्रेडिङ लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पीडित जनताको समस्या समाधानका लागि अधिकार सम्पन्न न्यायिक समिति गठन गर्ने लगायतका निर्णयहरू गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्