तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगीरथ प्रयास गरिरहेको बताउनुभएको छ ।

file photo

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहुने उल्लेख गर्नुभयो ।

जनसङ्ख्या र विकास एकापसमा अन्तर सम्बन्धित विषय हुन् भन्दै उहाँले शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासबाट गुणस्तरीय नागरिक उत्पादन गर्न सकिने यस क्षेत्रको सुधारका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले जनसङ्ख्याको असन्तुलनले दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ हुने उल्लेख गर्नुभयो ।

उहाँले जनसङ्ख्याको असन्तुलन नियन्त्रण गरी गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा अभिवृद्धि गर्न तीन तहका सरकारको समन्वय र सहकार्य गरी नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनसङ्ख्या वृद्धिदरमा कमी आएको र लैङ्गिक अनुपात पनि कमजोर रहेको भन्दै अबको दृष्टिकोण त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले सम्मेलनले विद्यमान जनसङ्ख्याको गतिविधिको विश्लेषण गर्दै आगामी रणनीति तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपालस्थित आवासीय प्रतिनिधि वोन योङ होङले नेपालको विद्यमान स्वास्थ्य प्रणालीको सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव रमेशकुमार केसीले जनसङ्ख्या र विकाससँगै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सम्मेलनमा विगतका अभ्यासको समीक्षा गर्दै विज्ञ सरोकारवालाको राय समेटेर आगामी रणनीति तयार गरिने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button