तपाईँ सुन्दै हुनुहुन्छः

लोक संस्कृति जोगाउन हरेक वर्ष डेउडा प्रतियोगिता

बैतडी । सुदूरपश्चिम प्रदेशको मुख्य लोक संस्कृतिको रुपमा रहेको “लोक डेउडा”को जर्गेना गर्न गौरा पर्वको अवसर पारेर डेउडा प्रतियोगिता गरिँदै आएको छ । 

गौरा पर्व चलिरहेका बेला र गौरा पर्व सकिएको केहिदिन सम्म विभिन्न ठाउँमा डेउडा प्रतियोगिता राख्ने गरिएको छ । जिल्लाको पाटन नगरपालिका–८ खोड्पे बजारमा हरेक बर्ष डेउडा प्रतियोगिता राख्ने गरिन्छ । डेउडा प्रतियोगितामा विभिन्न ठाउँका डेउडीया कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्ने गरेका छन् । यसबर्ष खोड्पेमा आयोजित प्रतियोगितामा दर्जन बढी डेउडियाहरुले प्रतिस्पर्धा गरिरहनुभएको छ । 

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई १० हजार दोस्रो लाई ७ हजार र तेस्रोलाई ५ हजार नगद सहित पुरस्कार दिइने आयोजक समिति सदस्य मोहन सिंह बिष्ट बताउनुहुन्छ । खोड्पेमा पाटन नगरपालिका वडा नं ८ को कार्यालय, खोडपे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना प्रतियोगिता आयोजना गरिएको हो ।  

डेउडा प्रतियोगितामा महिला/पुरुष बिच वा पुरुष/पुरुष वा महिला/महिला बीच हात जोडी गीतहरूको प्रतिस्पर्धा हुने गर्दछ । 

डेउडामा परापूर्व कालका शासक तथा वीर बिरंगनाका कथामा आधारित कुरा देखी वर्तमान राजनीति र फेसन तथा आधुनिक प्रचलनका कुराहरू समेटिन्छन् । कतिपय डेउडीयाहरुले डेउडा खेलमै  राजनीतिक बहस समेत गर्ने गरेका छन् । यसका साथै सामाजिक विकृतिहरू र समाजमा व्याप्त हानिकारक प्रचलनका विषयमा जनचेतना अभिवृद्धि गर्न समेत डेउडा गीतलाई माध्यम बनाएको  पाइन्छ । 

पछिल्लो समय कतिपय डेउडा खेलहरूमा डेउडियाहरुले फरक–फरक राजनीतिक दलको समर्थन गर्दै प्रस्तुत भएको पाइन्छ । तर कतिपय प्रतियोगिताहरूमा भने राजनीतिक कुरा गर्न बन्देज लगाइएको हुन्छ । यसरी डेउडा प्रतियोगिताको आयोजना हुँदा लोक संस्कृतिको जर्गेनाका साथै डेउडिया कलाकारहरूलाई समेत प्रतिभा प्रस्तुत गर्ने मौका प्राप्त भएको व्यवसायी दिपक ऐर बताउनुहुन्छ । डेउडा संस्कृतिले केही समयका लागि भएपनि सबै दुःख पीडाहरू भुलाउने गरेको उहाँको भनाई छ । पछिल्लो समय आयोजना हुने डेउडा प्रतियोगिताहरूले लोक संस्कृति जर्गेनाका साथै संस्कतीको पुस्तान्तरणमा सहयोग गरेको बताउनुभयो । 

डेउडा खेलमा सहभागीहरू हातमा हात मिलाएर चारैतिर परिक्रमा गर्दछन् । खेलको बीचमा र बाहिरपट्टी गीत सुन्न तथा हुटिङ गर्न मानिसहरूको भिड हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button