दुर्गम जिल्लामा व्यावसायिक उडानका लागि जहाज खरिद गरिने
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पहाडी तथा दुर्गम जिल्लामा व्यावसायिक उडानका लागि मन्त्रालयले जहाज खरिद गर्न लागेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुर्गम क्षेत्रका विमानस्थलमा सञ्चालनका लागि तीन वटा साना जहाज खरिद प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।
मन्त्री किराँतीले अर्बौँको लागतमा निमार्ण भएका विमानस्थल अझै पनि उपयोग विहीन अवस्थामा रहेको उल्लेख गर्दै अब सरकारले आवश्यकताको आधारमा विमानस्थल निर्माण गर्ने उल्लेख गर्नुभयो ।

भ्रष्टाचार नियन्त्रण, ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी प्रकरण तथा सुनकाण्ड जस्ता विषय उजागर गरेर दोषीलाई कारबाही गर्ने काम सरकारले गरिरहेको भन्नुहुँदै मन्त्री किराँतीले गलत गर्ने जो कोही पनि कानुनको दायरामा आउने बताउनुभयो ।
उहाँले नेपाली जनताको घरदैलोमा पुगेर सरकारले गरेका राम्रा कामबारे जानकारी गराउँदै नागरिकको आवश्यकता र चाहना बुझ्न नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियान शुरु गरेको प्रष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्