तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समितिलाई साधन स्रोतको अभाव हुन दिइन्न : मन्त्री देवी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घले आज यहाँ आयोजना गरेको ‘जिल्ला समन्वय समिति समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले जिससमा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापनका लागि शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री देवीले जिससलाई कार्य सम्पादनका आधारमा आवश्यक बजेट, कर्मचारी तथा साधान स्रोतको व्यवस्था मिलाउन महासङ्घसँग समन्वय गरी अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सङ्घ तथा प्रदेशका विभिन्न योजना कार्यान्वयनमा दोहोरोपनका साथै समस्या आउन नदिने गरी सन्तुलित र न्यायोचित विकासमा जिससको भूमिका बढाउन सकिएमा आर्थिक समृद्धिमा अनुकूल वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले जिससलाई साधन स्रोतयुक्त बनाइनुपर्नेमा जोड दिँदै अनुगमन र समन्वयलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले स्थानीय तहबिचको समन्वयका लागि जिससको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै जिम्मेवारीलाई ठिक ढङ्गले निर्वाह गर्नका लागि आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जिल्ला समन्वय समितिलाई सफल र प्रभावकारी बनाउन प्रमुख दलले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानको पूर्ण पालना गरेर जानुपर्नेमा जोड दिँदै जिससको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो ।

महासङ्घका निवर्तमान अध्यक्ष नवराज गोलालले जिल्ला समन्वय समितिलाई संविधानमा भएको व्यवस्था अनुसारको काम गर्नका लागि जनशक्ति र स्रोत दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति महासङ्घका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाले सरकारले जिल्ला समन्वय समितिको भूमिकालाई खुम्च्याउन नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button