उपप्रधानमन्त्री खड्कासँग लेबनानका अवैतनिक वाणिज्य दूतको भेट
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेबनानबिच असल सम्बन्ध रहेको भन्नुहुँदै शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिसनमा नेपाली शान्ति सैनिकहरू लेबनानमा तैनाथ भई लेबनानको शान्ति प्रक्रियामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यसले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको उल्लेख गर्नुभयो ।
साथै, नेपाल र लेबनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै सम्भावनाहरू भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेबनानको तर्फबाट लगानीका लागि आह्वान समेत गर्नुभयो ।
उपप्रधानमन्त्री खड्काले सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रुपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुवात गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा सावित भएको बताउनुभयो ।
सन् १९७८ देखि युनिफिल मिसन अन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिकहरू तैनाथी भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका र हाल ८७५ जना शान्ति सैनिकहरू लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उहाँको भनाइ छ ।
नेपाली सेना र लेवनानी सशस्त्र बलबिच सौहार्दपूर्ण सम्बन्ध रहेको, साथै नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमण नियमित रुपमा हुने गरेको पनि उहाँले औँल्याउनुभयो । उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका प्रधानसेनापतिको नेतृत्वमा भएको पछिल्लो भ्रमण पनि यसैको निरन्तरता रहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिइने कुरा उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले लेबनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेवनानी जनताको सकारात्मक भावना रहेको बताउनुभयो ।
उहाँले दुई देशबीच पर्यटन, उद्योग, जलश्रोत लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताउनुभयो । साथै, दुई देशबीच द्विपक्षीय श्रम, उद्योग, वाणिज्य, व्यवस्थापकीय लगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने कार्य लेबनानको तर्फबाट अघि बढाएकाले नेपालको तर्फबाट ती विषयहरू शीघ्र टुङ्गोमा पुर्याउन भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्कासँग उहाँले अनुरोध गर्नुभयो ।
सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्