रेडियो नेपाल र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबीच कार्यक्रम प्रसारण गर्ने सम्झौता
काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) र कृषि सूचना तथा प्रशिक्षण केन्द्रबीच आ.व. २०८०/०८१ का लागि कृषि कार्यक्रमहरू सञ्चालन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।
कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रमहरू प्रत्येक दिन रेडियो नेपालबाट प्रसारण गर्नेगरि कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेल र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता अनुसार प्रत्येक आइतबार साप्ताहिक कृषि गतिविधि, सोमबार पौरखी कृषक, मङ्गलवार नवीन कृषि प्रविधि, बुधबार कृषि संवाद, बिहीबार किसान प्रश्नमञ्च, शुक्रबार जेटिए र बुढीआमा र शनिबार रेडियो कृषि नाटक र पत्रपत्रिकामा कृषि कार्यक्रमहरू सञ्चालन गरिने छ । सो कार्यक्रमहरू सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन २०७३ समेत) को दफा ४१(१) को खण्ड घ १ को अधिनमा रही कार्यक्रम उत्पादन गरि सञ्चालन तथा प्रसारण गर्ने सम्झौता भएको हो ।
कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रमहरू सम्झौता अनुसार हरेक दिन बेलुका ६ः४० बजेदेखि ६ः५५ बजेसम्म सञ्चालन हुनेछ । एक वर्षसम्म लगातार सञ्चालन हुने सो कार्यक्रमको लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्रले रेडियो नेपाललाई भ्याटसहित ५० लाख ९१ हजार ७८० रुपैयाँ भुक्तान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
प्रत्येक दिन बेलुका १५ मिनेटसम्म प्रसारण हुने कृषि कार्यक्रम कृषि पेसामा संलग्न हुने समुदायलाई अझ प्रभावकारी रुपमा सन्देश सम्प्रेषण होस भन्नाका लागि भोलिपल्ट दिउसो १ः०० को समाचारपछि पुन प्रसारण हुनेछ ।
साथै सम्झौताको हस्ताक्षर कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नायव कार्यकारी निर्देशक चन्द्रभुषण लाल दास, निर्देशक गोपाल थापा, उपनिर्देशक पुष्कर बराल र मुख्य व्यापार अधिकृत तिलकजङ्ग बुढाथोकी र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेल, वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र कुमार मल्ल र लेखापाल गिरिराज रेग्मी उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्