तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले “पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या समाधानमा लागे मात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ”, भन्नुभयो ।

नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई विधि, पद्धति र नियमबाट अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर परिणाम धेरै आउने गरी काम गर्न उहाँले सुझाव दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री सिंहले भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने धारणा राख्नुभयो । उहाँले केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले पार्टीको केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना गरेमात्र पार्टी थप बलियो र मजबुद हुने भनाइ व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button