विद्यालयमा पहिरो पीडितको बास, पठनपाठन बन्द

डडेलधुरा । डडेल्धुराको भित्रीमधेस क्षेत्रमा अवस्थित एक सामुदायिक विद्यालयमा पहिरो पीडितहरू बस्दै आएकाले पठन–पाठन बन्द गरिएको छ । आलिताल गाउँपालिका वडा नं १ मा रहेको जनज्योति आधारभूत विद्यालयमा वडानं १ कै मालागाउँ र भोकागाउँका पहिरो पीडितहरू बस्दै आएकाले विद्यालय बन्द गरिएको वडानं १ का अध्यक्ष यज्ञबहादुर देउवाले बताउनु भयो ।
अहिले उक्त विद्यालयमा २१ परिवारहरू बस्दै आएका छन्। पहिले विद्यालयको बर्खे बिदा भएको समयमा पीडितहरू बसेका र अहिले उनीहरूलाई व्यवस्थापन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र ओझाले बताउनु भयो ।
ओझाका अनुसार केही दिन अघि गृह मन्त्रालयले आलितालका पहिरो पीडितहरूलाई आवश्यक राहत सामाग्री समेत उपलब्ध गराएकाले भीमदत्त राजमार्ग अवरुद्ध हुँदा राहत सामाग्री बाटोमै रहेकोले बाटो खुल्ने बित्तिकै समस्याको समाधान गरिने र पठन–पाठनमा भएको प्रभावलाई पनि व्यवस्थापन गरिने भएको छ ।
आलितालका पहिरो पीडितहरूले पटक–पटक बस्ती स्थानान्तरणको माग राख्दै आएका छन् । पहिरोले घर तथा जमिन नै भत्किएपछि पीडितहरू नजिकैको राष्ट्रिय बनमा पाल टाँगेर बस्दै आएका थिए । पछिल्लो समय पानी परेपछि उहाँहरूलाई विद्यालयको बर्खे बिदा भएको भन्दै पालिकाले आवश्यक राहत समेत उहाँहरूको विद्यालयमै व्यवस्थापन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्