भारतको गौरीकुण्डमा पहिरो : जुम्लाका एकै परिवारका ७ सहित १३ जना बेपत्ता
जुम्ला । भारतको केदारनाथ गौरीकुण्डमा गएराति पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिका–३ का एकै परिवारका ७ जनासहित १३ जना बेपत्ता भएका छन् ।

पहिरोमा धेरै जना बेपत्ता भएको खबर भए पनि यो समाचार तयार हुन्जेलसम्म १३ जनाको मात्रै नाम ठेगाना खुलेको छ ।
पातारासी गाउँपालिका–३ चौरगाउँका २७ वर्षीय अमृत बोहरा, उनीकी श्रीमती २९ वर्षीया अनिता बोहरा, जेठी छोरी ११ सलिबा बोहरा, साहिली छोरी ९ वर्षीया पिंकी बोहरा, ७ वर्षीया एलिसा बोहरा, ४ वर्षीय छोरो जटिल बोहरा र डेढ वर्षको वकिल बोहरासहित एकै घरका ७ जना पहिरोमा बेपत्ता भएका छन् ।
सोही गाउँका ४३ वर्षीय सुकराम रावत र उनका छोरा जोर रावत, ४४ वर्षीय बम बोहोरा पनि पहिरोमा बेपत्ता भएका छन् । सोही गाउँपालिका – २ पेरेगाउँका धनराज बुढा र चन्द्र कामी, उनका छोरा लालबहादुर कामी पनि पहिरोमा बेपत्ता भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे मार्फत गृह मन्त्रालय हुँदै राजदूतावाससम्म उद्धारका लागि पहल गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्