‘शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार प्रतिबद्ध’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक तत्काल पारित गरी शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले स्थापना गरेको मानवअधिकार अभिलेखालयको उद्घाटनका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरी सशस्त्र द्वन्द्वबाट पीडितहरूलाई समाजमा पुनः स्थापित गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो ।

मन्त्री शर्माले सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी काम समयमै टुङ्गोमा पुर्याउन नसक्दा पीडितहरू थप पीडामा पर्ने अवस्था आएको बताउनुभयो ।
मन्त्री शर्माले संसदमा विचाराधीन सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुहुँदै सबै पक्षको सहमतिमा विधेयक पारित हुने र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मानवअधिकार आयोगले संविधान र कानूनले दिएको अधिकार व्यवहारमा प्रयोग गर्न नसक्दा यसको भूमिका माथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनुभयो ।

आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले नेपाल पक्ष राष्ट्र भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानून प्रतिको प्रतिबद्धता पुष्टि गर्न आयोगले हालसम्म गरेका कामहरूलाई अभिलेखीकरण गरेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले स्थापनादेखि हालसम्म गरेका महत्पूर्ण कामहरूको अभिलेख राखिएको अभिलेखालयमा १० वर्षे सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार आयोगले खेलको भूमिकालाई विशेष जोड दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्