तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सम्बन्ध विच्छेदका मुद्दामा वृद्धि

कास्की । जिल्ला अदालत कास्कीमा सम्बन्ध विच्छेदका मुद्दामा वृद्धि आएको छ । 

आर्थिक वर्ष २०७९/०८० मा १४ सय ७५ सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा कास्की जिल्ला अदालतमा कुल ६ सय ७२ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । सम्बन्धविच्छेद गर्ने पुरुषभन्दा महिलाको सख्या बढी रहेको जिल्ला अदालतले जनाएको छ ।

पछिल्लो समय पोखरामा बढ्दो शहरीकरण ,पारिवारिक वेमेल र कानुनमा आएको सहजताले गर्दा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो क्रममा रहेको स्रेस्तेदार  रुद्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/०८० मा मुद्दा फछ्र्यौट सङ्ख्या विगतको भन्दा राम्रो देखिएको छ। जिल्ला अदालतबाट विगत दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९/०८० मा फछ्र्यौट सङ्ख्या बढेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा जिम्मेवारी सरेका आएका २४ सय ३७ र नयाँ दर्ता हुन आएका ३९ सय २४ गरी कुल ६३ सय ६१ वटा मुद्दा दर्ता भएकोमा ४१ सय १४ वटा मुद्दा फर्छ्यौट भएको अदालतका स्रेस्तादार अर्याल बताउनुभयो । उहाँले  मुद्दा फर्छ्यौट सङ्ख्या लक्ष्य अनुरुप भएको बताउनुभयो । “जिल्ला अदालतले जुन लक्ष्य अनुमान गरेको थियो । त्यो अनुरुप मुद्दा फर्छ्यौट भएको छ”, अर्यालले भन्नुभयो

जब कि आर्थिक वर्ष २०७८/७९ मा ३ हजार १३ वटा मुद्दा फर्छ्यौट भएका थिए। यो वर्ष जिल्ला अदालतमा जिम्मेवारी सरेर आएका २ हजार ७५ र नयाँ दर्ता ३३ सय ७५ गरी कुल ५४ सय ५० वटा मुद्दा दर्ता भएकोमा ३ हजार १३ वटा मुद्दामात्र फर्छ्यौट भएका थिए ।

यी दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मुद्दा फछ्र्योटका सङ्ख्या हेर्ने हो भने निकै कम छ । आर्थिक वर्ष २०७७÷०७८ मा २१ सय ४६ वटा मुद्दा मात्र फर्छ्यौट भएका थिए । यति बेला जिम्मेवारी सरेर आएका १९ सय ७४ वटा र नयाँ दर्ता २२ सय ४७ वटा गरी ४२ सय २१ वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षमा २२ सय ५० वटा मुद्दाको जिम्मेवारी सरेको छ । यसमध्ये ६ वटा मुद्दा २ वर्ष नाघेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button