मटिहानीलाई सुख्खाक्षेत्र घोषणा गर्न माग

बर्दिबास । महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगर क्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । बिहीबार सम्पन्न नगर कार्यपालिकाको पूर्ण बैठकले साउन दोस्रो साता बित्नै लाग्दासम्म पानी नपरेर मुख्य बाली धान लगाउन नपाएपछि नगर क्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत कार्यक्रम दिन माग गरेको हो ।
“असार १५ अघि सकिनु पर्ने धान रोपाइँ यसपालि साउन मध्ये हुनलाग्दासम्म अघि बढ्न सकेन” नगर प्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “अब ठुलो अनिकालको लक्षण देखिएको बुढापाका भन्दछन्, त्यसैले हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ ।”
नगर कार्यपालिकाको बैठकले नगरलाई सुख्खाक्षेत्र घोषणासँगै अब वैकल्पिक खेतीतर्फ किसानलाई अग्रसर गराउन, भोकमरी लाग्न नदिन पूर्वसजगता अपनाउन, राहत कार्यक्रम अघि बढाउन, किसानलाई धान लगाउन नपाएपछि गरिने अन्य खेतीका लागि बीउ, मल र सुलभ ऋणको प्रबन्ध गर्न माग गरेका छन् ।
मटिहानी नगर क्षेत्रमा १६ सय ८६ हेक्टर जग्गा खेती योग्य रहे पनि १२ सय हेक्टरमा धान खेती गरिदै आएका छन् । नगरमा स्थायी सिँचाइको प्रबन्ध नहुँदा आकाशे पानीको भरमा यसपालि धान बाली लगाउन नपाइएको नगरप्रमुख मण्डलले बताउनुभयो ।
जिल्लाका १० पालिका र ५ गाउँपालिकामा यस्तै समस्या रहे पनि औपचारिक रूपमा सरकारसँग सुख्खाक्षेत्र घोषणा माग गर्ने मटिहानी पहिलो स्थानीय तह हाे ।








प्रतिक्रिया राख्नुहोस्