तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा प्रहरीद्वारा चोरी आरोपमा पक्राउ परेका ३० जना सार्वजनिक

जनकपुरधाम । धनुषा प्रहरीले चोरी आरोपमा पक्राउ परेका ३० जना आरोपितलाई आज सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा १७ वर्षदेखि ३८ वर्षसम्मका युवा रहेका छन् । मोटरसाइकलदेखि हेल्मेट, धर्मशालामा चोरी गरेको, पसलबाट नगद चोरी गरेको जस्ता आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा २ सय ३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकोमा ८१ वटा बरामद गरेर सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरूमाथि चोरी तथा अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button